काठमाडौंका सार्वजनिक स्थलमा साउन १ बाट धुम्रपान र मद्यपान निषेध

काठमाडौंका सार्वजनिक स्थलमा साउन १ बाट धुम्रपान र मद्यपान निषेध : Icon Khabar

काठमाडौं, असार २६  । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान तथा मद्यपान गर्न निषेध गर्ने नयाँ नियमावली सार्वजनिक गरेको छ ।

प्रतिबन्धको प्रारम्भिक चरणमा बानेश्वर क्षेत्रमा लागु गरिने छ, जसलाई विस्तारै काठमाडौं महानगरका ३२ वडामा विस्तार गर्ने योजना छ । यो अभियान सञ्चालन गर्न केएमसी र बानेश्वर ट्रेड युनियनले सहकार्य गरिरहेका छन् ।

सङ्घका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै शुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट शुरु गर्ने तयारी गरिएको हो। आजदेखि आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले बताए।

सार्वजनिक स्थानमा धुम्रपान र मद्यपानको सेवन गर्दा अन्य व्यक्तिलाई पनि उत्तिनै असर गर्ने हुँदा निषेध गर्न लागिएको हो।  धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिने बताइएको छ।

एक वर्षअघि पनि महानगरले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो, तर त्यसको सकारात्मक प्रभावकारिता नभएको भन्दै कडाइका साथ कार्यान्वयन गर्ने गरी पुनः शुरु गर्न लागिएको जनाइएको छ।

सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनाका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्छ।

सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउने गरेका छन्।

Published Date: 11 July 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु