(माओवादी केन्द्र)द्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गर्न प्रस्ताव

(माओवादी केन्द्र)द्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गर्न प्रस्ताव : Icon Khabar

काठमाडौं, चैत २३ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गर्न प्रस्ताव गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकअघि सभामुखको अध्यक्षतामा संसदमा रहेका राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलमा माओवादी केन्द्रले औपचारिक रुपमा यस्तो प्रस्ताव राखेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विगतमा पनि यस विषयमा छलफल भएको उल्लेख गर्दै सदनमा छलफल गरेर विधेयक पारित गर्ने विकल्प अगाडि राखे ।

तर, अन्य दलले माओवादी केन्द्रको प्रस्तावलाई अस्वीकार गरेका छन् । जतिसक्दो चाँडो पारित हुनुपर्नेमा नेकपा एमाले सहमत भए पनि संसदीय समितिमा नियमित छलफल हुनुपर्ने उनीहरूको स्पष्ट धारणा छ । एमालेका प्रमुख सचेतक पदम गिरीले छिटो संसदीय समिति गठन गरी विधेयक सदनमा अगाडि बढाउनु उपयुक्त हुने बताए ।

प्रतिनिधिसभामा तीनवटा विधेयक दर्ता भई प्रक्रियामा छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।

सम्पत्ति शुद्धीकरण रोकथाम र व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही कानूनलाई परिमार्जन गर्ने विधेयक पनि प्रतिनिधिसभामा दर्ता भइसकेको र प्रक्रियामा छ ।

माओवादी केन्द्रले यी तीनवटै विधेयकलाई द्रुत गतिमा पारित गर्न प्रस्ताव गरेको छ । तर, एमालेले भने सदनमा छलफल गरेर विधेयक पारित गर्ने प्रक्रियामा स्पष्ट असहमति रहेको बताएको छ ।

नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)ले पनि सहमति नभएकाले विधेयकमाथि संसदीय समितिमा छलफल हुने बताएका छन् । राप्रपाका प्रमुख सचेतक सन्तोष परियारले त्रैमासिक छलफलका लागि समितिमा लैजाँदा अलिकति ढिलाइ हुने भएकाले त्यसका लागि तयार हुनुपर्ने बताए । तर, यसलाई सदाका लागि लम्ब्याउने मनसाय नगर्न उनले सुझाव दिए ।

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले पनि संसदीय समितिमा त्रैमासिक छलफलको विषयलाई अन्यथा लिन नहुने बताए । बिहीबारको छलफलमा नेपाली कांग्रेसका सांसदहरु अनुपस्थित थिए ।

Published Date: 06 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु