प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित : Icon Khabar

काठमाडौं, चैत १९ । प्रतिनिधि सभाको आइतबार बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ।  बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारित हुनुअघि बैठकमा उक्त प्रतिवेदनमाथि दफावार छलफल भएको थियो।

छलफलका क्रममा सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य लेखकले सांसदहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ  दिनुभएको थियो। जवाफको क्रममा समिति सदस्य लेखकले समावेश गर्न आवश्यक केही संशोधनहरुलाई मस्यौदामा स्वीकार गरिएकोे सभालाई जानकारी गराउनुभएको थियो।

यसैगरी, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आब २०७८–०७९)’ पेश गर्नुभएको थियो। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो।

बैठकको सुरुमा सभामुख घिमिरेले आइतबार मात्र शपथ लिनुभएका जनता समाजवादी पार्टी नेपालका समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीलाई बैठकमा स्वागत गर्नुभएको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजे बस्नेछ। – रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 02 April 2023
Website | + posts