दुईदिने भक्तपुर घरेलु उत्पादन मेला आजबाट सुरु

दुईदिने भक्तपुर घरेलु उत्पादन मेला आजबाट सुरु : Icon Khabar

भक्तपुर, चैत्र १८ । भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय उत्पादनबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई दिने ‘भक्तपुर घरेलु उत्पादन मेला’ को आयोजना गरेको छ । भक्तपुरको नासमना र तालाक्व टोलमा चैत्र १८ र १९ गते दुई दिनसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भनपा ३ नासमना टोल सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले देशमा उत्पादन भएका घरेलु उत्पादन तथा सामग्रीहरुलाई उत्साहित गर्नुपर्ने बताए । उनले देशमै उत्पादन हुने सामग्रीहरु सबैले खरिद गरेर सहयोग गर्न विशेष जोड दिदै स्थानीय उत्पादनले पर्यटन विकासमा समेत सहयोग पुग्ने बताए ।

देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्ने भन्दै उनले भक्तपुर घरेलु उत्पादन मेला सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग देश विकासको आधार भएको बताउँदै यस किसिमको गतिविधिले पर्यटन प्रवद्र्धनका लागि मद्दत गर्ने, नयाँ नयाँ रोजगारीको सृजना हुने, आत्मनिर्भर बनाउने र देशको व्यापार घाटा कम गर्न समेत टेवा पुग्ने बताए ।

स्वागत मन्तव्य दिदै वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराले मेला अवलोकन गर्न अनुरोध गर्दै भक्तपुरको मौलिक उत्पादन प्रचारप्रसार गर्न यस्ता खालको कार्यक्रम महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले विभिन्न समयमा मेला तथा महोत्सवको आयोजना गरिदै आएको जानकारी दिनुहुदै स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने र यसको व्यापक प्रचारप्रसार गर्नुपर्ने बताए ।

दुई दिनसम्म चल्ने मेलाको प्रमुख आकर्षणहरुमा भक्तपुरका मौलिक उत्पादनहरु, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला र प्रस्तरकलाहरु, हस्तकलाका सामाग्रीहरु, नेवारी खाजा स्टल र सांस्कृतिक प्रस्तुती आदि रहेका छन् ।

स्थानीय उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर घरेलु तथा साना उद्योग संघ र पर्यटन विकास समितिको सहआयोजनामा भएको उक्त मेलाको उद्घाटन र्याली भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ८ जेँला टोलबाट सुरु भई दत्तात्रय, सलागणेश, नागपोखरी, महालक्ष्मी, भुलाछेँ, तुछिमला, तुलाछेँ, त्रिपुरासुन्दरी, दरबार क्षेत्र, खौमा, इताछेँ, बसपार्क, भार्वाचो, तेखापुखु/वंशगोपाल हुँदै नासमनामा पुगी उद्घाटन कार्यक्रम भएको थियो ।

उद्घाटन पश्चात कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले नासमना र तालाक्वमा भएको भक्तपुर घरेलु उत्पादन मेलाको स्थलगत अवलोकन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2023
Website | + posts