चेन्नईलाई हराउँदै गुजरातको सानदार विजयी सुरुवात

चेन्नईलाई हराउँदै गुजरातको सानदार विजयी सुरुवात : Icon Khabar

काठमाडौं, चैत १८ । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातलाई जितको लागि अन्तिम १२ बलमा २३ रन चाहिँएको थियो । तीव्र गतिका बलर दीपक चाहरले १९ औं ओभरमा १५ रन खर्चिएपछि जितको सम्भावना टाढिएको थियो । १९ औं ओभरको दोस्रो बलमा लेग वाइको रुपमा चौका गएको थियो । चौथो बलमा राशिद खानले छक्का र पाँचौं बलमा चौका प्रहार गर्दै जित नजिक पुर्याए ।

राहुल टेवाटियाले अन्तिम ओभरमा ८ रन चाहिँदा पहिलो बलमा तुषारदेश पाण्डेलाई छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै खेल सकाएका थिए । गुजरातका शुभमन गिल ३६ बलमा ६ चौका र ३ छक्कासहित ६३ रनमा आउट भए ।

ऋद्धिमान शाह १६ बलमा २ चौका र २ छक्कासहित २५, साई सुदर्शन २२, हार्दिक पान्ड्या ८ र विजय शंकर २७ रनमा आउट भए । राहुल टेवाटिया १५ र राशिद खान १० रनमा अविजित रहे ।

डेब्यू खेलमा चेन्नईका तीव्र गतिका बलर राजवर्धन हांगरगेकरले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तुषार देशपाण्डे र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।

चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्कासहित ९२ रनको सानदार इनिङ खेलेपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन । ऋतुराज बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

गायकवाड तीव्र गतिका बलर अल्जारी जोशेफको १८ औं ओभरको पहिलो फुलटस बलमा छक्का हान्ने धुनमा लङअनमा शुभमन गिलबाट क्याच आउट भएपछि शतक बनाउन ८ रनले चुकेका थिए ।

तीव्र गतिका बलर मोहम्मद शामीले तेस्रो ओभरको दोस्रो बलमा ओपनर डेभन कन्वेलाई एक रनमा बोल्ड गरेका थिए । मोईन अली १७ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा क्याच आउट भए । अली राशिद खानको बलमा ऋद्धिमान शाहबाट क्याच आउट भए ।

राशिद खानको बलमा चेन्नईका प्रमुख ब्याटर बेन स्टोक्स एज लागेर शाहबाट क्याच आउट हुन पुगेपछि विशाल योगफल कठिन देखिएको थियो । स्टोक्सले ६ बलमा १ चौकासहित ७ रन बनाए । बायाँ हाते तीव्र गतिका बलर जोशुवा लिटिलले अम्बाती रायुडूलाई १२ रनमा बोल्ड गरे । लिटिल आयरल्यान्डबाट आइपिएल खेल्ने पहिलो खेलाडी हुन् ।

शिबम दुबे १८ बलमा १ छक्कासहित १९, रविन्द्र जडेजा १ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी ७ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहेका थिए ।

गुजरातका राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । राशिद खान प्लेयर अफ द म्याच चुनिए । मोहम्मद शामीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जोशुवा लिटिलले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । चेन्नईले सोमबार लखउन सुपर जायन्ट्ससँग खेल्नेछ । गुजरातले बुधबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

Published Date: 01 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग