चेन्नईलाई हराउँदै गुजरातको सानदार विजयी सुरुवात

चेन्नईलाई हराउँदै गुजरातको सानदार विजयी सुरुवात : Icon Khabar

काठमाडौं, चैत १८ । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातलाई जितको लागि अन्तिम १२ बलमा २३ रन चाहिँएको थियो । तीव्र गतिका बलर दीपक चाहरले १९ औं ओभरमा १५ रन खर्चिएपछि जितको सम्भावना टाढिएको थियो । १९ औं ओभरको दोस्रो बलमा लेग वाइको रुपमा चौका गएको थियो । चौथो बलमा राशिद खानले छक्का र पाँचौं बलमा चौका प्रहार गर्दै जित नजिक पुर्याए ।

राहुल टेवाटियाले अन्तिम ओभरमा ८ रन चाहिँदा पहिलो बलमा तुषारदेश पाण्डेलाई छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै खेल सकाएका थिए । गुजरातका शुभमन गिल ३६ बलमा ६ चौका र ३ छक्कासहित ६३ रनमा आउट भए ।

ऋद्धिमान शाह १६ बलमा २ चौका र २ छक्कासहित २५, साई सुदर्शन २२, हार्दिक पान्ड्या ८ र विजय शंकर २७ रनमा आउट भए । राहुल टेवाटिया १५ र राशिद खान १० रनमा अविजित रहे ।

डेब्यू खेलमा चेन्नईका तीव्र गतिका बलर राजवर्धन हांगरगेकरले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तुषार देशपाण्डे र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।

चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्कासहित ९२ रनको सानदार इनिङ खेलेपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन । ऋतुराज बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

गायकवाड तीव्र गतिका बलर अल्जारी जोशेफको १८ औं ओभरको पहिलो फुलटस बलमा छक्का हान्ने धुनमा लङअनमा शुभमन गिलबाट क्याच आउट भएपछि शतक बनाउन ८ रनले चुकेका थिए ।

तीव्र गतिका बलर मोहम्मद शामीले तेस्रो ओभरको दोस्रो बलमा ओपनर डेभन कन्वेलाई एक रनमा बोल्ड गरेका थिए । मोईन अली १७ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा क्याच आउट भए । अली राशिद खानको बलमा ऋद्धिमान शाहबाट क्याच आउट भए ।

राशिद खानको बलमा चेन्नईका प्रमुख ब्याटर बेन स्टोक्स एज लागेर शाहबाट क्याच आउट हुन पुगेपछि विशाल योगफल कठिन देखिएको थियो । स्टोक्सले ६ बलमा १ चौकासहित ७ रन बनाए । बायाँ हाते तीव्र गतिका बलर जोशुवा लिटिलले अम्बाती रायुडूलाई १२ रनमा बोल्ड गरे । लिटिल आयरल्यान्डबाट आइपिएल खेल्ने पहिलो खेलाडी हुन् ।

शिबम दुबे १८ बलमा १ छक्कासहित १९, रविन्द्र जडेजा १ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी ७ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहेका थिए ।

गुजरातका राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । राशिद खान प्लेयर अफ द म्याच चुनिए । मोहम्मद शामीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जोशुवा लिटिलले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । चेन्नईले सोमबार लखउन सुपर जायन्ट्ससँग खेल्नेछ । गुजरातले बुधबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2023
Website | + posts
ताजा
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू