भुटानविरुद्ध १-१ को बराबर खेल्दै नेपाल फाइनलमा प्रवेश

भुटानविरुद्ध १-१ को बराबर खेल्दै नेपाल फाइनलमा प्रवेश : Icon Khabar

काठमाडौं, चैत १४ । अन्तिम समयमा दिपक राज सिंह ठकुरीले गोल गरेपछि नेपाल भुटानसँग बराबरी खेल्दै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । भुटानविरुद्ध १-१ को बराबर खेल्दै नेपाल हारबाट जोगिएको हो ।

दशरथ रंगशालामा फितलो प्रदर्शन गर्दै हारतर्फ उन्मुख देखिएको नेपाली टोलीले अन्तिम समयमा गोल गरेको हो । त्यसअघि पहिलो हाफमा भुटानले पहिलो हाफमा अग्रता लिएको थियो ।

खेलको २० औं मिनेटमा भुटानले अग्रता लियो । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुको हेडर गोलमा परिणत भएको थियो । फ्रन्ट पोस्टमा तेन्जिङको रन नेपाली डिफेन्सले ठम्याउन नसक्दा भुटान अग्रता लिन सफल रहेको थियो । २९ औं मिनेटमा पुजन उपरकोटीले ३० यार्ड टाढाबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको अन्ति मिनेटमा नेपालले बराबरी गर्ने अवसर गुमायो । कर्नरमा रिबाउन्ड आएको बललाई पुजनले सेकेन्ड बारमा हेड गर्दा सनिश श्रेष्ठको अन्तिम हेडर पोस्टभन्दा थोरै माथिबाट गयो ।

दोस्रो हाफको सुरुवातमा प्रशिक्षक अनेसेले नवयुग श्रेष्ठको स्थानमा मनिष डाँगीलाई मैदान पठाए । तर खेल सुचारु भएको दोस्रो मिनेटमै अन्जन विष्ट गोलरक्षकसँग जुध्दा घाइते हुँदै मैदान छाड्न बाध्य भए । उनको स्थान दिपक राज सिंह ठकुरीले लिए ।

७० औं मिनेटमा दिपकको पेनाल्टी क्षेत्र भित्रको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै काउन्टर अट्याकमा मनिषले बल नियन्त्रण गर्न नसक्दा २ भर्सेस २ को अवस्थामा नेपालले फाइदा लिन सकेन ।

७८ औं मिनेटमा मनिषले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो । ८३ औं मिनेटमा सनिशको क्रसमा आयुषको हेडर फितलो रहयो ।

९० औं मिनेटमा दिपकले नेपालका लागि बराबरी गोल गरे । निशान खड्काको कर्नरमा अनन्त तामाङले दिएको हेडरलाई दिपकले खाली पोस्टमा गोल गरेका थिए ।

यससँगै नेपाल र लाओस फाइनल खेल्ने भएका छन् । नेपाल ४ अंकसहित शीर्षस्थानमा रहँदा लाओस ३ अंकले दोस्रो भयो । भुटान १ अंक जोड्दै समूह चरणबाट बाहिरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2023
Website | + posts