युवा उद्यमी सुदीप कोइरालालाई १० लाख राशिको रोटरी गोपाल–कमला राजभण्डारी पुरस्कार

युवा उद्यमी सुदीप कोइरालालाई १० लाख राशिको रोटरी गोपाल–कमला राजभण्डारी पुरस्कार : Icon Khabar

काठमाडौं, चैत ७ । युवा उद्यमी सुदीप कोइरालाले १० लाख रुपैयाँ राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स’ पुरस्कार प्राप्त गरेका छन् । दिदी फाउन्डेसनका सञ्चालक कोइरालाले सामाजिक उद्यमशीलता तथा समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत यो पुरस्कार प्राप्त गरेका हुन् ।

३३ वर्षीय कोइरालले कम उमेरमै रोटरी क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार प्राप्त गर्न सफल भएका छन् । रोटरियन गोपाल–कमला राजभण्डारीको नामबाट समाजका विभिन्न क्षेत्रमा योगदान पुराउनेलाई यो पुरस्कार दिइँदै आइएको छ । यसअघि प्रत्येक दुई वर्षमा प्रदान गर्दै आइएको यो पुरस्कार यस वर्षदेखि वार्षिक रुपमा प्रदान गर्ने बताइएको छ ।

रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ को १५ औं राष्ट्रिय सम्मेलनका अवसरमा हालै गोपाल–कमलाका नाती आमोद राजभण्डारीले परिवारको अन्य सदस्यको उपस्थितिमा कोइरालालाई उक्त पुरस्कारबाट सम्मानित गरेका हुन् । यो पुरस्कार गोपाल–कमला राजभण्डारीको स्मृतिमा स्थापना गरिएको हो । समाजसेवीका रुपमा परिचित गोपाल राजभण्डारी नेपालका रोटरी क्लब स्थापनाकालका संस्थापक सदस्य हुन् ।

विगतमा यस पुरस्कारबाट धुलिखेल अस्पतालका अध्यक्ष डा. रामकण्ठ मकाजु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. सुरेशराज शर्मा, संस्कृतिविद् सत्यमोहन जोशी, प्रिजनर्स नेपालका अध्यक्ष इन्दिरा राना मगर, एफएवान सफ्ट इन्टरनेशनलप्रालिका अध्यक्ष विश्वास ढकाललगायतले पाएका छन् ।

समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेलाई प्रोत्साहन गर्ने उदेश्यले यूवा उद्यमी कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको गोपाल–कमला राजभण्डारीका नाती आमोद राजभण्डारीले बताए। उनका अनुसार बासुदेव गोल्यानको अध्यक्षतामा ६ सदस्सीय पुरस्कार छनोट समिति गठन गरिएको थियो ।

पुरस्कार प्राप्त गरेका कोइरालाले उक्त पुरस्कारको रकम समाजको उन्नतिका लागि लगानी गर्ने बताए । “हामीले काम गर्दा समाजका पिछडिएको वर्गको पनि आर्थिक उथ्थान हुनु पर्छ,” उनले भने, “यो पुरस्कारले मलाई थप त्यहि बाटोमा हिड्न प्रोत्साहन गर्ने छ ।”

को हुन् सुदीप कोइराला ?
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)बाट बीबीए पूरा गरेका सुदीप कोइरालाले अमेरिकाको कोलोराडो युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका हुन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा २०४६ भदौमा जन्मिएका कोइराला विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरी स्वदेशमै केही गरौं भनेर फर्केका हुन् । उनी बीबीए अध्ययन गर्दै दिदी फाउन्डेसन नामक संस्था खोलेर समाजसेवामा लागेका थिए ।

सुदीपले करिब १३ वर्षदेखि विकाससँग सम्बन्धित संस्थामा योगदान दिएका छन् । गैर नाफामूलक संस्थाहरूको लागि आत्मनिर्भर मोडेलको परिकल्पना गरेका कोइराला दातामा आधारित संस्थाहरूमा पूर्ण रूपमा निर्भर हुनुहुँदैन भन्ने मान्यतामा काम गरिरहेका छन् । सोही अवधारणाअनुसार नेपालमा दिदी फाउन्डेसनमा आत्मनिर्भर मोडल सफलतापूर्वक कार्यान्वयन गर्दा उनको सपना साकार भएको छ । कोइराला र उनको टीमले २०७२ सालदेखि कृषि क्षेत्रमा नवप्रवर्तनको प्रयास गर्दै आएको छ । जैविक मल निर्माणमा तिलोत्तमा अर्गानिक एन्ड रिसर्च सेन्टर उनको प्रयासको उपज हो ।

दिदी फाउन्डेसनलाई व्यावसायिक केन्द्र बनाएर अघि बढिरहेका कोइरालाले यस संस्थामार्फत सिलाईबुनाई, बेकरी, कम्प्युटर तालिम, दिदी क्याफे, दिदी सहकारीलगायतका व्यावसायिक क्रियाकलाप गर्दै आएका छन् । यसमार्फत ६ हजारभन्दा बढीले तालिम पाएका छन् भने कतिपयले स्वरोजगारसँगै रोजगारी सिर्जना गरेका छन् । यस कार्यक्रमलाई सातै प्रदेशमा लैजाने योजना रहेको उनी बताउँछन् । हाल दिदी फाउन्डेसनमार्फत महिलाका लागि चाहिने सेनिटरी प्याड, आवासीय ट्रेनिङ सेन्टरलगायत सञ्चालनमा छन् । कोइराला सुनकोशी सामुदायिक अस्पतालका संस्थापक सदस्य हुन् ।

Published Date: 21 March 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता