काठमाडौं, माघ २० । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता प्रवर्द्धन गर्ने उद्देश्यले निर्वाचन आयोग, नेपाल र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा निर्वाचन आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट श्री फेर्दोस अल मत्ताकिनले हस्ताक्षर गर्नुभएको हो।
समझदारी हस्ताक्षर समारोहमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय माननीय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा. तथा आयोगका सचिव कृष्ण बहादुर राउतलगायत आयोगका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
समझदारीअनुसार निर्वाचन अवधिमा भ्रामक सूचना, गलत प्रचार तथा आचारसंहिता विपरीतका सामग्री नियन्त्रण गर्न दुवै पक्षबीच सहकार्य गरिनेछ। साथै, मतदाता शिक्षालाई प्रवर्द्धन गर्ने तथा जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने विषयमा पनि सहमति भएको आयोगले जनाएको छ।
निर्वाचन प्रक्रियाको विश्वसनीयता कायम राख्न प्रविधि तथा डिजिटल प्लेटफर्मसँगको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आयोगले यो समझदारी निर्वाचन स्वच्छता प्रवर्द्धनतर्फको महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेको छ।
Published Date: 04 February 2026