भक्तपुरमा तीन दिने घरेलु उत्पादन प्रवर्द्धन मेला सम्पन्न

भक्तपुरमा तीन दिने घरेलु उत्पादन प्रवर्द्धन मेला सम्पन्न : Icon Khabar

भक्तपुर, पुस ५ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा तथा उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक, भक्तपुरको सहकार्यमा सञ्चालन भएको घरेलु उत्पादन प्रवर्द्धन मेला सम्पन्न भएको छ ।

भक्तपुर नगरपालिका–२ स्थित नःपुखु परिसरमा आयोजना गरिएको मेलामा विभिन्न घरेलु तथा साना उद्योगका ४३ वटा स्टल तथा नेवारी खाजा र अन्य खाद्य परिकारका ५ वटा गरी जम्मा ४८ वटा स्टल राखिएको थियो। मेलामा करिब ५० हजार दर्शकले अवलोकन गरेका थिए भने करिब ३० देखि ४० लाख रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरिएको छ।

लघु, घरेलु तथा साना उद्योगी–व्यवसायीहरूले ठूलो खर्चमा विज्ञापन गर्न तथा ठूला मेला–महोत्सवमा सहभागी हुन नसक्ने अवस्थालाई ध्यानमा राख्दै उनीहरूका उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको संघले जनाएको छ। संघले यसअघि पनि घरेलु उत्पादन मेला, नेवारी संस्कृति तथा पर्यटन प्रवर्द्धनसम्बन्धी मेला, कृषि, पर्यटन तथा घरेलु मेला तथा भक्तपुर र मध्यपुर महोत्सवमार्फत साना उद्यमी तथा व्यवसायीहरूको प्रवर्द्धन गर्दै आएको छ।

मेलाको समापन कार्यक्रममा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले घरेलु उद्योग देशको अर्थतन्त्रसँगै संस्कृति, रीतिरिवाज र परम्परासँग जोडिएको उल्लेख गर्दै यस्ता उद्योगको संरक्षण आवश्यक रहेको बताए। उनले बागमती प्रदेश सरकारको तर्फबाट गर्न सकिने सहयोगका विषयमा पहल गर्ने बताए।

कार्यक्रमका अर्का वक्ता पूर्व वडाध्यक्ष रविन्द्र खर्बुजाले साविक वडा नं. १५ हाल वडा नं. २ मा रहेको औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामको रूपमा विकास गर्न स्थानीय जनताको जग्गा अधिग्रहण गरिएको बताउँदै साना तथा हस्तकला उद्योगहरू त्यहाँ व्यवस्थापन गरी वातावरणमा असर पार्ने उद्योगहरू स्थानान्तरण गर्नुपर्ने धारणा राखे।

संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग सञ्चालनका क्रममा बागमती प्रदेश अन्तर्गत उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयसँग सम्बन्धित समस्या तथा सुझाव प्रस्तुत गरिएको थियो। साथै, मेला सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको थियो। कार्यक्रमको सञ्चालन संघकी सचिव श्रीजना कक्षपतिले गरेकी थिइन्।

Published Date: 20 December 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी