भोलि बाला चतुर्दशीका लागि पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन रणनीति

भोलि बाला चतुर्दशीका लागि पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन रणनीति : Icon Khabar

काठमाडौं, मंसिर २ । भोलि मंसिर ३ गते मनाइने बाला चतुर्दशी पर्वका लागि आज मंसिर २ गते मंगलवारदेखि नै पशुपति क्षेत्रमा भिडभाड प्रारम्भ भैसकेको छ । आज साँझ नै पशुपतिनाथमा दिवंगत पितृहरुको सम्झनामा बत्ती बालेर रातभरि जाग्राम बस्ने धार्मिक प्रचलन छ ।

यसैबीच, बाला चतुर्दशी मेला–२०८२ का लागि यो वर्ष ट्राफिक प्रहरीले आजदेखि नै ट्राफिक व्यवस्थापन गर्ने रणनीति अपनाएको छ । गौशालातर्फको भीड तथा अस्तव्यस्तता व्यवस्थान गर्न उपत्यका ट्राफिक प्रहरीले डाइभर्सन, पार्किङ व्यवस्थापन र निषेधित क्षेत्रको बारेमा जानकारी गराएको छ ।

ट्राफिक प्रहरीले एउटा पोस्टर सार्वजनिक गर्दै ट्राफिक व्यवस्थापन मानचित्रका बारेमा जानकारी गराएको छ । उक्त पोस्टरमा जनाइए अनुसार, चाबहिल–गौशाला, रातोपुल–गौशाला, कालोपुल–गौशाला र सिनामंगल–गौशाला जोड्ने मुख्य सडकहरू डाइभर्सन सम्भावित सूचीमा राखिएका छन् ।

तीर्थालुको संख्या अत्यधिक बढेपछि यी मार्गहरू तत्कालिक रूपमा बन्द हुने ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीको भनाइ छ ।

ट्राफिक प्रहरीले यसपटक त्रिकोणीय तयारी गरेको छ—

निषेधित मार्ग– गौशालातर्फ सिधै जाने मालवाहक र केही सवारीलाई पूर्ण रोक ।

पूर्व निर्धारित डाइभर्सन– भीड बढेपछि वैकल्पिक मार्गमार्फत सवारी मोडिने

समूहगत पार्किङ व्यवस्था– सिफल चौर, वनकाली तथा तिलगंगामा तीर्थालुका लागि पार्किङ

अघिल्ला वर्षहरूमा गौशाला क्षेत्रमा अचानक भीड बढ्दा जाम, अफ्ठ्यारो मोडले दुर्घटनाको जोखिम बढाएको थियो ।

ट्राफिक प्रहरीले तीर्थालुलाई नजिकै पार्किङ गरेर पैदल बाटो प्रयोग गर्न आग्रह गरेको छ । साथै, उम्माकुण्ड क्षेत्रलाई पूर्ण रूपमा पार्किङ निषेध क्षेत्र घोषणा गरिएको छ ।

बाला चतुर्दशीको महत्व

बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पूण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ । पितृहरूप्रति भक्ति गरेमा यसले मुक्ति र परम शान्ति प्रदान गर्दछ । बाला चतुर्दशीको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिर सँग–सँगै कोटेश्वरको महादेवस्थानसहित अन्य शिवालयमा अघिल्लो दिन अर्थात आजदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।

रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् बाला चतुर्दशीको बिहानै शतबीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ । हिन्दु धर्म मान्नेहरूले आफ्ना दिवङ्गत पुर्खाहरूको मुक्तिको लागि शत बीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शत बीज छर्ने गरिएको हो ।

मङ्सिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दु धर्मावलम्बीमा रहेको छ । शत बीजमा सात अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ ।

Published Date: 18 November 2025


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली