गर्मीमा तातो हावा ‘लु’बाट कसरि बच्ने ?

गर्मीमा तातो हावा ‘लु’बाट कसरि बच्ने ? : Icon Khabar

काठमाडौं, जेठ २७ । गर्मीयाम बढ्दै जाँदा तातो हावाका कारण मानव स्वास्थ्यमा विभिन्न असरहरू देखिन थालेका छन् । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने समस्या देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तापक्रम उच्च हुने स्थानहरूमा चैतदेखि असारसम्म यो समस्या देखिने गरेको छ । सामान्य अवस्थामा मानिसको शरीरको तापक्रम ९८ डिग्री फरेनहाइट हुन्छ । तर, बाहिरी वातावरणका कारण शरीरको तापक्रम १०६ डिग्री फरेनहाइटभन्दा बढी भएमा व्यक्तिको दिमागसम्म असर पुग्न गई विभिन्न अंगमा देखिने विभिन्न असर नै लु अर्थात् हिट् स्ट्रोक हो ।

लगातार शरीरबाट पसिना आई नुनको मात्रा कम हुन पुगी विभिन्न अंगमा असर पुर्‍याउने, डिहाइड्रेसन हुने, मुटुको चाल बढ्ने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुनेजस्ता समस्या देखिन्छन् । त्यस्तै, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, छाला सुक्खा र रातो हुनेजस्ता समस्या पनि ‘लु’का लक्षण हुन् ।

यस्ता असरहरू देखिएका बिरामीलाई तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

विशेषगरी बालबालिका, वृद्धवृदा, गर्मीमा रहेर काम गर्ने, खेल्ने व्यक्तिहरूमा ‘लु’को समस्या बढी हुने गरेको पाइएको छ । तर, अत्यधिक गर्मी हुने स्थानमा जो कोहीलाई पनि यो समस्या हुन सक्ने भएकाले सचेत हुन चिकित्सकहरू सुझाव दिन्छन् ।

‘लु’बाट बच्न सकेसम्म गर्मीमा बाहिर नहिँड्ने, गर्मी भए पनि सबै कपडा खोलेर नबस्ने, प्रशस्त पानी पिउने, शरीरमा चिसो पानी छर्कने, बरफका टुक्राहरूले सेक्ने, बस्ने स्थानलाई शीतल राख्नेजस्ता उपाय अपनाउन सकिन्छ ।

Published Date: 10 June 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु