पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आएको पनौती जात्रा (हिले जात्रा) सुरु

पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आएको पनौती जात्रा (हिले जात्रा) सुरु : Icon Khabar

काभ्रेपलाञ्चोक, जेठ २७ । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आएको हिले जात्रा यस वर्ष पनि सुरु भएको छ । जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा सुरु भई २८ गतेसम्म चल्नेछ ।

परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेस्र्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर जात्रा सुरु भएको मानिन्छ । राति भद्रकालीको रथ तानिने, गैंडु पूजा गरिने, विशेष होम सञ्चालन हुने परम्परा रहेको छ । चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा–आराधना गरिन्छ ।

विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ । साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ । पूर्णिमाको दिन जात्राको मुख्य आकर्षण–तीनवटा रथको दौड र जुधाइ–आयोजना गरिन्छ । भद्रकाली, महादेव र इन्द्रेश्वरका रथहरूलाई बजारमा दौडाउन थालिन्छ र अन्त्यमा तीनै रथलाई आपसमा जुधाइन्छ ।

स्थानीय परम्पराअनुसार यो रथजात्रा देवतारूपी पात्रहरूको काम–क्रीडासँग सम्बन्धित धार्मिक आख्यानमा आधारित छ । मान्यताअनुसार भद्रकाली देवी ६४ योगिनीको रूप धारण गरी महादेवलाई लखेट्छिन् । महादेव त्रिवेणीमा लुक्न पुग्छन् तर भद्रकालीले नछाडेपछि भैरवको रूपमा रूपान्तरण भई देवीलाई पछ्याउँछन् । अन्ततः भद्रकाली चारैतिरबाट घेरिन्छिन् र रथ जुधाइ त्यही प्रसंगको प्रतिक हो ।

जात्रामा सहभागी हुन आएका स्थानीय र बाहिरी पाहुनाहरूको स्वागतका लागि घर–घरमा बलि दिने, पाहुना भित्र्याउने, चिउरी र केरा खाएर घुम किन्ने परम्परा अझै कायम छ । जात्रा सकिएको भोलिपल्टैदेखि रोपाईं सुरु गरिन्छ । पूजापाठ, देवगणको शोभायात्रा, रथ तान्ने, अबिर जात्रा, सांस्कृतिक कार्यक्रमहरू हुने भएकाले पनौती नगरपालिकाले मङ्गलवार र बुधबार सार्वजनिक बिदा समेत दिएको छ ।- गोरखापत्रबाट साभार

Published Date: 10 June 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी