वीर अस्पतालको सेवा सुधार गर्नका लागि कार्यदल गठन

वीर अस्पतालको सेवा सुधार गर्नका लागि कार्यदल गठन : Icon Khabar

काठमाडौँ, वैशाख ३१ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर उपलब्ध जनशक्ति तथा श्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको छ ।

नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्सजस्ता सेवा तथा तिनका लागि उपलब्ध उपकरणको अहिलेको अवस्था मूल्याङ्कन गर्दै सुधार गर्ने उपाय सुझाउन पनि कार्यदललाई भनिएको छ । तीन सदस्यीय कार्यदलमा विज्ञका रूपमा दीपक मोहन भट्टराई तथा डा. सुरेश तिवारी सदस्य छन् ।

कार्यदललाई आर्थिक तथा प्रशासनिक जटिलता तथा समाधानका सुझाव दिन पनि कार्यादेश दिइएको छ । यसै गरी वीरलाई डिजिटलाइजेशन गर्न देखिएका कठिनाइबारे सुझाव दिँदै भावी योजना समेत प्रस्ताव गर्न कार्यदललाई कार्यादेश प्रदान गरिएको छ । मन्त्री पौडेलले वीर अस्पतालमा बिग्रिएर थन्किएका उपकरणको मर्मतका लागि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिन सहजीकरण गरेका थिए । फलस्वरूप अहिले धेरै उपकरण निकै कम खर्चमा मर्मत भएर सेवा दिइरहेका छन् ।

मन्त्री पौडेल नेतृत्वमा आएयता वीर अस्पतालमा दुई सिफ्टमा ओपिडी सञ्चालनका अतिरिक्त भएका सेवाहरूमा समेत धेरैले सेवा लिन सक्ने वातावरण तयार भएको छ । सीटीस्क्यान, एमआरआई आदिले अधिक क्षमतामा सेवा दिइरहेका छन् । मन्त्रीले पठाएको नौ बुँदे सुधार सुझावपछि अनलाइनमार्फत टिकट लिने प्रबन्ध गरिएको छ । यसलाई अझ प्रभावकारी बनाउन मन्त्री पौडेलले वीरलाई डिजिटलाइजेसनमा लैजान प्रयास गरिरहेका छन् ।

अस्पतालका निर्देशक डा दिलीप शर्माले कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान प्रयास गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 May 2025
Website | + posts
ताजा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो
गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना, सबैभन्दा बढी बागमती प्रदेशमा
बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू