विश्वको सबैभन्दा खुसी देशमा फिनल्यान्ड प्रथम, नेपाल ९२ औँ स्थानमा

विश्वको सबैभन्दा खुसी देशमा फिनल्यान्ड प्रथम, नेपाल ९२ औँ स्थानमा : Icon Khabar

काठमाडौँ, चैत ७ । फिनल्यान्ड लगातार आठौँ पटक विश्वको सबैभन्दा खुसी देश बनेको छ । ७ दशमलव ७३६ अङ्कसहित १४७ देशहरूको सूची लगातार आठौँ पटक पनि फिनल्यान्ड सबैभन्दा खुसी देशका रूपमा रहेको छ । यस वर्षको सूचीमा नेपाल ५ दशमलव ३११ अङ्कसहित ९२ औँ स्थानमा रहेको छ ।

गएको वर्षको वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा ५ दशमलव १५८ अङ्कसहित विश्वका १४३ देशमाझ नेपाल ९३ औँ स्थानमा रहेको थियो । यसको अर्थ नेपालको खुसी स्तर समीक्षा अवधिमा बढेको छ । सूचीमा भारत १२६ औँ स्थानमा छ भने पाकिस्तान १०९ औँ स्थानमा रहेको छ ।

खुसी आर्थिक विकासले मात्र निर्धारण गर्दैन । अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले प्रकाशित गरेको वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ अनुसार मानिसहरूबिचको पारस्परिक विश्वास र सामाजिक सम्बन्धले पनि यसमा ठुलो भूमिका खेल्छ । नोर्डिक देशहरू फेरि पनि खुसीको वरीयतामा शीर्ष स्थानमा छन् ।

फिनल्यान्ड बाहेक, डेनमार्क, आइसल्यान्ड र स्विडेन क्रमशः शीर्ष चारमा रहेका छन् । हरेक देशका सहभागीहरूलाई आफ्नो जीवनको मूल्याङ्कन गर्न सोध्दा दिइएको जवाफको आधारमा प्रतिवेदनले देशको वरियता तय गरेको हो । प्रतिवेदनका लागि सर्वेक्षण बजार अनुसन्धाता संस्था ग्यालप र संयुक्त राष्ट्रसङ्घको दिगो विकास समाधान नेटवर्कसँगको साझेदारीमा गरिएको थियो ।

‘खुसी भनेको केवल पैसा वा वृद्धिसँग मात्रै जोडिएको छैन– यो विश्वास, सम्बन्ध र मानिसहरू तपाईंको साथ दिइरहेका छन् कि छैनन् भन्ने बारे हो,’ ग्यालपका सीईओ जोन क्लिफ्टनले भने । यदि हामी मजबुत समुदाय र अर्थतन्त्र चाहन्छौँ भने हामीले वास्तवमै महत्त्वपूर्ण कुराहरूमा लगानी गर्नुपर्ने उनले बताए ।

खुसीको सूचकाङ्कमा अमेरिका अहिलेसम्मकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । वरीयताको शीर्ष २० केही अपवाद बाहेक युरोपेली देशहरूको प्रभुत्व छ । हमाससँगको युद्ध लडिरहेको इजरायल आठौँ स्थानमा छ । कोस्टारिका र मेक्सिको पहिलो पटक खुसी देशहरूको शीर्ष १० मा प्रवेश गरेका छन् । यी दुई देश क्रमशः सूचीको छैटौँ र १० औँ स्थानमा छन् । अमेरिका यस वरीयतामा अहिलेसम्मकै सबैभन्दा तल्लो स्थानमा २४ औँ स्थानमा पुगेको छ । २०१२ मा अमेरिका ११ औँ स्थानमा थियो ।

अमेरिकामा एक्लै खाना खानेहरूको सङ्ख्या विगत दुई दशकमा ५३ प्रतिशतले बढेको प्रतिवेदनमा भनिएको छ । बेलायत सूचीको २३ औँ स्थानमा छ । सूचीको सबैभन्दा पुछारमा रहेको देशलाई विश्वको सबैभन्दा दुखी देश मान्दा यो देश अफगानिस्तान हो । आफ्नो जीवन विशेष गरी कठिन रहेको अफगानी महिलाहरू भन्छन् । दोस्रो सबैभन्दा दुखी देश सियरालियोन हो । पुछारबाट तेस्रो स्थानमा लेबनान छ । मलावी र जिम्बाब्वे पुछारबाट क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।

यी हुन् मानिसको खुसीलाई असर गर्ने कुरा

स्वास्थ्य र धन बाहेक, खुसीलाई प्रभाव पार्ने केही कारकहरू भ्रामक रूपमा सरल देखिने अनुसन्धानकर्ताहरू भन्छन् । रिपोर्टका अनुसार अरूसँग खाना बाँडेर खाने, सामाजिक सहयोगको लागि कसैमा भरपर्ने र परिवारको आकारले पनि मान्छेको खुसीलाई असर गर्छ । उदाहरणका लागि, मेक्सिको र युरोपमा, चारदेखि पाँच जनाको परिवारमा खुसीको स्तर सबैभन्दा उच्च छ ।

प्रतिवेदनका अनुसार विश्वभरका पाँचमध्ये एक युवा वयस्कले कुनै पनि सामाजिक सहयोग पाउँदैनन् । चिन्ताजनक कुरा के छ भने २०२३ मा विश्वभरका १९ प्रतिशत युवा वयस्कहरूले सामाजिक सहयोगको लागि भर पर्न सक्ने कोही नभएको बताएका थिए । २००६ को तुलनामा यो ३९ प्रतिशतले बढी हो । प्रतिवेदन २०२२ देखि २०२४ सम्मको तथ्यांकका आधारमा तयार पारिएको छ ।

Published Date: 20 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी