बिहीबारदेखि काठमाडौंमा पानी पर्ने सम्भावना

बिहीबारदेखि काठमाडौंमा पानी पर्ने सम्भावना : Icon Khabar

काठमाडौँ, फागुन १३ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

मंगलबार र बुधबार सामान्यतया मौसम सफा रहने मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाले मंगलबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको औंल्याएको छ।

मौसमविद् पोखरेलले बिहीबार र शुक्रबार पश्चिमी वायु पुनः सक्रिय हुने बताएका छन्। यसले पश्चिम नेपालमा उल्लेखनीय वर्षा गराउने पनि उनले बताए।

यो प्रणालीले काठमाडौंमा पनि हिउँदको पहिलो वर्षा हुने सम्भावना रहेको उनले बताए।

मंसिर १६ देखि फागुन १३ गतेसम्मको अवधिमा काठमाडौंमा एक झर पानी परेको छैन। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुसमेतका प्रभावले सोमबार कोशीका तराई भूभागमा मध्यम वर्षा भएको थियो। पश्चिम नेपालमा पनि यसपालि हल्कादेखि मध्यम वर्षा भएको छ।

तथापि यसपटक औसतभन्दा कम पानी परेको छ। मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँद याम भनिन्छ। यो अवधिमा ६०.१ मिलिमिटर सरदर वर्षा हुने गरेको महाशाखाले जनाएको छ।

तर अहिलेसम्म ८.६० मिलिमिटर मात्रै वर्षा भएको छ। १४.३ प्रतिशत मात्रै हिउँदे वर्षा हुँदा सुख्खा लागेको छ। यसले डढेलो बढ्ने, वायुमण्डलमा धुवाँ, धुलो थुप्रँदा वायु अस्वस्थकर हुने लगायत समस्या देखिने विज्ञहरूले बताएका छन्।

Published Date: 25 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु