काठमाडौँ, फागुन ९ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने स्वयम्भू महोत्सव आयोजना गर्ने भएको छ।
आज सो विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष ईश्वरमान डंगोलले अपेक्षाका विषयमा जानकारी गराएका हुन्। स्वयम्भू महोत्सवले स्थानीय पहिचान र पर्यटन प्रवर्धन हुने तथा समुदाय स्तरको अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा लिइएको छ।
सम्पदा क्षेत्र बसन्तपुर र पर्यटकीय क्षेत्र ठमेल स्वयम्भूबाट पैदल दुरीमा छ । पर्यटन पूर्वाधार पूर्ण भएकोले यस क्षेत्रमा पर्यटन व्यवस्थापनका प्रशस्त सम्भावना छन् । यसले स्थानीयबासीको जीविकोपार्जन र आय आर्जनमा ठुलो योगदान गर्नेछ । वडाध्यक्ष डंगोलले भने, ‘महोत्सव सम्भावनाको खोजी हो । स्थानीय उत्पादनको प्रवर्धन गर्ने थलो हो ।’
वडा सचिव प्रमोद अधिकारीका अनुसार महोत्सव सञ्चालनका लागि तयारी अन्तिम चरणमा रहेको छ । महोत्सवका गतिविधिलाई व्यवस्थित गर्न कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जनको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति, व्यवस्थापन उपसमिति र स्वागत उपसमिति गठन भएको छ । यी उपसमितिहरुमा क्रमश ५२ जना, ३० जना र १२० जना सदस्य हुनुहुन्छ । वडा सदस्य रीता मिजारको संयोजकत्वमा १७ सदस्यीय प्रचार प्रसार उपसमिति, अप्सरा खत्रीको संयोजकत्वमा ३५ सदस्यीय सरसफाइ तथा स्टल उपसमिति र वडा सदस्य विजु श्रेष्ठको संयोजकत्वमा २ सय सदस्यीय स्वयमसेवक तथा शान्ति सुरक्षा व्यवस्था उपसमिति गठन भएको छ ।
‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन् । प्रदर्शनी र सेवाका लागि करिब ६० वटा स्टल रहनेछन् । परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिनेछन् । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले विशेष आकर्षणका रुपमा रहनेछन् । महोत्सवमा मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका थप आकर्षण हुनेछन् ।
Published Date: 21 February 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1