२४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागीका घटना

२४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागीका घटना : Icon Khabar

काठमाडौं, माघ १३ । हिउँद सुक्खा हुँदा आगलागीका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागीका घटना भएका छन् । तीन जिल्लामा डढेलो लागेको रेकर्ड छ ।

सोलुखुम्बु, भोजपुर र काभ्रेमा डढेलो लागेको छ । काभ्रेको बेथानचोक गाउँपालिका ३ को नाराणस्थान सामुदायिक वन र जनजागृती सामुदायिक वन तथा वडा नम्बर ५ को चिसापानी सामुदायिक वनमा लागेको डढेलो फैलिँदै गएको छ । खानीखोलातर्फको डढेलो भने हेलिकोप्टरको सहायतामा नियन्त्रणमा आएको थियो ।

भोजपुर नगरपालिका ३ को भालुखोप सामुदायिक वनमा लोको आगो भने निभाउने प्रयास भइरहेको छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका ४ को सुर्केस्थित एक निजी जंगलमा लागेको आगो भने नगर प्रहरी, विमानस्थल सुरक्षा गार्ड फाप्लु र स्थानीय मिलेर निभाएका छन् ।

विपद् प्राधिकरणको रेकर्ड अनुसार बाजुरा, सल्यान, दैलेख, पाल्पा, रुपन्देही, बाग्लुङ, काभ्रे, मकवानपुर, पर्सा, धनुषा, सिरहा, सुनसरी, सोलुखुम्बु, तेह्रथुम र मोरङमा आगलागीका घटना भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

डढेलो खासगरी गर्मी र सुख्खा समयमा बढी लाग्ने गर्दछ । मंसिरदेखि मध्य जेठ महिनासम्मको समयावधि सुख्खायामको रूपमा चिनिन्छ । डढेलो मंसिरदेखि प्रारम्भिक रूपमा सुरु हुन्छ र वैशाख महिनाको मध्यतिर चरम हुन्छ । साथै मनसुन सुरु भएपछि कम हुन्छ ।

डढेलो विज्ञ तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माका अनुसार, ७४ प्रतिशत डढेलो मध्य फागुनदेखि मध्य वैशाखको बीचमा लाग्छ । यस्तै ५१ प्रतिशत डढेलो चैतदेखि मध्य वैशाखको बीचमा लाग्ने गर्छ ।

लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण आगलागीका घटना बढी हुने गरेको पाइएको छ । नेपालमा वार्षिक सरदर ३ हजार ९८ वटा डढेलोका घटना हुने र त्यसबाट १ लाख ७२ हजार ४० हेक्टर जंगल मासिने गरेको अनुमान छ । तर आगलागी नियन्त्रणमा सरकारको कदम प्रभावकारी देखिएको छैन ।

यस वर्ष हिउँद सुक्खा हुने प्रिमनसुन सिजनमा गर्मी हुने पूर्वानुमान भएकाले यस वर्ष पनि डढेलो र आगलागीका घटना बढ्नसक्ने अनुमान छ ।

Published Date: 26 January 2025








ताजा
कक्षा १२ को परीक्षा नतिजा डेढ महिनाभित्र सार्वजनिक गर्ने तयारी
पनौती कलाँती भूमिडाँडा सम्बन्धी वृत्तचित्र प्रदर्शन सम्पन्न
नेपाल बैंकको आधारभूत अवस्था मजबुत, तर लाभांश क्षमता कमजोर
काठमाडौंको टोखा नगरपालिकामा बच्चा जन्मनासाथ बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा