प्रभु, हिमालयन र एनआइसी एसिया बैंक राष्ट्र बैंकको कारबाहीमा

प्रभु, हिमालयन र एनआइसी एसिया बैंक राष्ट्र बैंकको कारबाहीमा : Icon Khabar

काठमाडौँ, माघ ९ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा निर्देशनविपरीत काम गर्ने प्रभु, हिमालयन र एनआइसी एसिया बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ ।

एनआइसी एसिया बैंकका सञ्चालक, निजहरूका परिवारका सदस्य एवं सम्बद्ध संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका सञ्चालक, निजका परिवारका सदस्य एवं सम्बद्ध संस्थाको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेको भेटिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसरी दिइएको बढी ब्याज रकम फिर्ता गर्न निर्देशन दिएको छ भने बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र सङ्घाईलाई नसिहत दिएको छ ।

राष्ट्र बैंकबाट एनआइसी एसिया बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिम भारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवं संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । जस अनुसार निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य/निर्णय नगर्ने तथा नगराउने, निर्देशन पूर्ण रूपमा परिपालना गर्न/गराउन एवं सुधारको कार्ययोजना बनाई लागु गर्ने, ब्याजदरसम्बन्धी निर्देशन उल्लङ्घन नगर्ने पनि राष्ट्र बैंकले बैंकलाई भनेको छ ।

राष्ट्र बैंकले जारी गरेको पुँजी पर्याप्तता ढाँचा २०१५ अनुरूप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकिन गरी सोको प्रतिवेदन सो बैंकलाई नियमित रूपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागु गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

साथै कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी व्यवस्था आफ्नो निर्देशन अनुरूप हुने गरी गर्न तथा राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनको पूर्ण रूपमा पालना गर्न/गराउन तथा सुधारको कार्ययोजना बनाई लागु गर्न पनि राष्ट्र बैंकले एनआइसी एसिया बैंकलाई निर्देशन दिएको छ ।

यस्तै प्रभु बैंकले नियमविपरीत सञ्चालक समिति नियुक्त गरेर वार्षिक साधारण सभाबाट पारित गरेको, बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भए पनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफू अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएकाले बैंकतथा वित्तीय संस्थासम्बन्धी ऐनको व्यवस्था पालना नगरेको राष्ट्र बैंकले जनाएको छ । नियुक्त गरिएका सञ्चालकलाई पदबाट हटाउन बैंकको सञ्चालक समितिलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंकबाट जारी निर्देशनको पालनामा कमजोरी देखिएको तथा निरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियत समयमै सुधार गर्न बैंकअग्रसर रहेको नदेखिएको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानीबापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनुपात गणना सम्बन्धमा जारी निर्देशन पालना नभएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाको पालना नगरेको भन्दै हिमालयन बैंकलिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

Published Date: 22 January 2025
ताजा
“दैनिक भक्तपुर अपडेट” सुरु हुँदै: प्रत्येक दिन बेलुकी ९ बजे समाचार संक्षेप सार्वजनिक गरिने
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
पहाडी र हिमाली भू-भागमा मेघगर्जसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता