‘भक्तपुरको पर्यटन: विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया सम्पन्न

‘भक्तपुरको पर्यटन: विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया सम्पन्न : Icon Khabar
तस्बिर: जिरो वान स्टुडियो

भक्तपुर, असोज १० । भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भक्तपुर नगरपालिकासंगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसरमा ‘भक्तपुरको पर्यटन: विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुले भक्तपुरको पर्यटन प्रवर्द्वनबारे आ–आफ्नो धारणाहरु व्यक्त गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले देशको आर्थिक समृद्धिमा पर्यटनको भूमिका उल्लेखनीय रहेको बताउँदै विभिन्न देशको पर्यटनबारे पनि नेपालले अध्ययन गर्दै अगाडि बढ्नु प्रभावकारी हुने बताए।

देशको भूगोल र राजनीतिक घटनाक्रमले पनि पर्यटन क्षेत्रमा पार्ने प्रभावबारे प्रष्ट पार्दै अध्यक्ष बिजुक्छेँले शासकको अदूरदर्शी सोचले देश दुर्घटनाग्रस्त हुन सक्नेतर्फ सबै सचेत हुन जरुरी रहेको बताए।

देशका शासकहरुले विदेशीसँग सम्झौता गर्दा त्यसको प्रभावबारे आवश्यक छलफल गरेर मात्र अगाडि बढ्नु उपयुक्त हुने विचार व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले देशलाई दीर्घकालीन असर पार्ने सन्धि सम्झौताको विरोध न्यायप्रेमी जनताबाट हुनुपर्छ भने।

आर्थिक दरिद्रता भन्दा वैचारिक दरिद्रता खतरनाक हुने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले पर्यटनबाट मात्र देशको अर्थतन्त्र उकास्न सम्भव नभएको बताए। उनले जनताको चेतनास्तर र आर्थिक स्तर उकास्न सरकारले नै योजनाहरु अगाडि ल्याउनुपर्नेमा जोड दिँदै नेपालमा पर्यटनको सम्भावनालाई राम्रोसँग अध्ययन गरी त्यसको विकासतर्फ ध्यान दिनुपर्ने बताए।

कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका फरक परक विशेषता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरुले भक्तपुर भ्रमण गर्ने गरेको बताउँदै नेपाल भ्रमण गर्ने पर्यटकहरुलाई भक्तपुर एक पटक पुग्नैपर्ने गन्तव्यको रुपमा विकास गर्न भक्तपुर नपाले विविध प्रयासहरु गर्दै आएको बताए।

भक्तपुर नपा वातावरण तथा पर्यटन समिति एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुरको मौलिक रुप नयाँ पुस्तामा पुस्तान्तरण गर्दै संरक्षण र जगेर्ना गर्ने नगरपालिकाको दीर्घकालीन लक्ष्य रहेको बताउँदै भक्तपुरको पुरानो क्षेत्रलाई सांस्कृतिक क्षेत्रको रुपमा संरक्षण गर्दै आइरहेको र भक्तपुरलाई सांस्कृतिक नगर घोषणाको लागि नपाले पहल गर्दै आइरहेका विचार व्यक्त गरे।

सामाजिक अभियन्त अनिल चित्रकारले नेपालमा पर्यटनको सम्भावना आशालाग्दो रहेको बताउँदै पर्यटन प्रवर्द्वनबारे भावी योजनाहरु बनाइ अझ व्यवस्थित गर्नुपर्नेतर्फ जोड दिए। उनले भक्तपुर भ्रमणमा आउने पर्यटकहरुलाई भक्तपुरबारे अविष्मरणीय प्रभाव पार्ने किसिमका गतिविधिहरु अगाडि सार्न जरुरी रहेको बताउँदै पर्यटक आगामनको गुणात्मकतासँगसँगै गुणस्तरीयतामा पनि जोड दिनुपर्ने बताए।

कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, निवर्तमान अध्यक्ष रामसुन्दर भेले, पूर्व अध्यक्ष नवलकिशोर राजभण्डारी, संस्थापक अध्यक्ष निलकृष्ण ताम्राकार, टुर्गानका प्रतिनिधि थानेश्वर देवकोटा, लगायतले भक्तपुरको पर्यटन प्रवर्द्वनमा भक्तपुर नपा र पर्यटन विकास समितिले समन्वयकारी भूमिका काम गर्दै आइरहेको, नगरभित्र पुरानो शैलीमा घर निर्माण गर्न नगरबासीहरुलाई प्रोत्साहन गर्नुपर्ने, नेपाल भ्रमण गर्ने पर्यटकहरुको बसाइ लब्याउन योजनाहरु आवश्यक भएको र भक्तपुरको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न भक्तपुर पर्यटन विकास समितिको भूमिकाबारे प्रष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 September 2024
Website | + posts