काठमाडौँ, माघ २३ । सुपरमाई हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु. एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी रु. ५० करोडको १० प्रतिशतले हुने रु. पाँच करोड मूल्य बराबरको कुल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र १० हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी चार लाख १५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको जनाएको छ ।
उक्त कम्पनीले निष्कासन गरेको शेयरमा लगानीकर्ताले छिटोमा यही माघ २६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेड रहेको छ ।
Published Date: 06 February 2023