धनगढी, माघ २१ । कैलालीको धनगढीमा विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौँ संस्करण सुरु भएको छ । शनिवार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता सत्यवती एकेडेमी विजयी भएको छ ।
लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरियालाई २८ रनले पराजित गर्दै सत्यवतीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।
१ सय २७ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको लोटस आइले १७.३ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । लोटस आइलाई आयुब चन्दले २३, प्रेम शाहले २२ र सुरेश रावलले १० रनको योगदान दिए । कसिलो बलिङ गरेका सत्यवतीका जीत साउदले ४ ओभरमा १७ रन खर्चिए महत्त्वपूर्ण ४ विकेट लिए । अभिषेक कोइराला र प्रतिक श्रेष्ठले समान २÷२ विकेट लिए ।
पहिलो पारीमा सत्यवतीका लागि गौतम केसीले अविजित ४८ र प्रतिक श्रेष्ठले २५ रन बनाए । बलिङ तथा ब्याटिङ दुवै तर्फ खराब प्रदर्शन गर्दा लोटस आई पहिलो खेलमै पराजित हुनुपरेको हो ।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबार अतरियाको गुराँस एकेडेमी र धनगढीको वेष्टन क्रिष्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा लिटल फ्लावर र कञ्चनपुरको होली फेमली इङ्लिस मिडियम स्कुल भिड्ने छन् ।
उद्घाटन खेल अघि सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको एक समारोहका बिच उद्घाटन गरेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर तीनका अध्यक्ष राजबहादुर ऐरले ब्याटिङ तथा प्रदेश प्रमुख जोशीले बलिङ गरेका प्रतियोगिताको उद्घाटन गरेका थिए । सो क्रममा जोशीले खेलाडी तथा खेल क्षेत्रको विकासका लागि आधार तहबाटै खेलकुदलाई प्राथमिकतामा राखिनुपर्ने बताए ।
एलपीएल जस्ता प्रतियोगितालाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट हुने सहयोगमा प्रतिबद्ध रहेका प्रदेश प्रमुख जोशीले बताए ।
उद्घाटन सत्रमा नेपाल क्रिकेट सङ्घ क्यानका सुदूरपश्चिम अध्यक्ष हरि रेग्मीले फाप्ला क्रिकेट मैदान निर्माण र लिटल फ्लावर प्रिमियर लिग जस्ता प्रतियोगितालाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले क्रिकेटको जग बलियो बनाउने यस्ता प्रतियोगिता प्रति सरकारको उदासीनता रहेको दुखेसो व्यक्त गरे ।
एलपीएलको यो संस्करण लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।
फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।
विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।