अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यको पहिलो प्रस्तुती

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यको पहिलो प्रस्तुती : Icon Khabar

क्यानबेरा, माघ २१ । अष्ट्रेलियाका सबैजसो ब्यस्त सहरहरुमा धेरैपटक प्रस्तुत भइसकेको नेपथ्य तुलनात्मक रुपले शान्त केन्द्रिय राजधानी क्यानबेराको मञ्चमा भने यसपाला पहिलोपटक उभिएको थियो । थोरै मात्र नेपालीको बसोबास रहेको यस सहरमा पनि नेपाली लोक रक धुन बोकेर पुगेको ब्याण्डले शुक्रबार भब्य स्वागत पाउन सफल भएको छ ।

यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा तोकिएको दर्शक संख्या अनुसार जारी सम्पूर्ण टिकट शोभन्दा अघिल्लो दिन अर्थात् बिहीबारै विक्री भएर सिद्धिएको थियो । शुक्रबार कन्सर्ट सुरुहुनुभन्दा निकै अघि नै ‘अष्ट्रेलियन युनिभर्सिटी’ परिसर भित्र रहेको हलमा नेपाली र केहि मात्रामा अष्ट्रेलियन दर्शकहरुको घुइँचो लागिसकेको थियो ।
स्थानीय समयअनुसार बेलुकीको ठीक ८.३० बजे कन्सर्ट सुरुहुँदा ब्याण्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् ‘आँगनैभरि हिउँनै झरे’बाट सुरुगरेको थियो । त्यसपछि लगत्तै दोश्रो अल्बमको सर्बकालीक हिट गीत ‘छेक्यो छेक्यो’ सुनायो ।

कार्यक्रममा दर्शकहरुको भिँड भित्रै लिण्डा ट्रिग पनि थिइन् । नेपालमा कुनै समय अष्ट्रेलियन कुटनीतिज्ञको भूमिका निर्वाह गरेकी र हाल अवकाशप्राप्त उनी साथमा छोरालाई लिएर कन्सर्ट हेर्न आइपुगेकी थिइन् ।

‘गजब लाग्यो,’ कार्यक्रम हेरिसकेपछि प्रतिक्रिया दिँदै उनी भनिरहेकी थिइन्, ‘ब्यावसायिकताले निखारिएको त छँदैछ, नेपथ्यको प्रस्तुती असाध्यै उर्जाशील पनि लाग्यो ।’
ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ त्यो उर्जाकै मुख्य श्रोत भएता पनि सिँगो ब्याण्ड आफैमा विश्वस्तरीय रहेको लिण्डाको मूल्यांकन थियो ।
‘सिंगो दर्शक रमाए,’ लिण्डाले थपिन्, ‘हामी आमाछोरा पनि खुब रमायौं ।’

कार्यक्रमलाई त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘लामपाते सुरती’, ‘चरि म¥यो’ र ‘जोमसोमे बजार’ जस्ता गीतहरुले निरन्तरता दिएको थियो । ‘शिरफूल शिरैमा’ गाइरहँदा अमृतले नेपालका डाँडाकाँडामा अद्भूत मिठास रहेको उल्लेख गर्दै स्वदेश गएका बेला पदयात्रा गर्न दर्शकहरुलाई हौस्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2023
Website | + posts