गठबन्धनभित्र खटपट भएका समाचार आएपछि आज सत्तारुढ गठबन्धनको बैठक बस्दै

गठबन्धनभित्र खटपट भएका समाचार आएपछि आज सत्तारुढ गठबन्धनको बैठक बस्दै : Icon Khabar

काठमाडौं, फागुन २१ । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ। पछिल्लो समय गठबन्धनभित्र खटपट भएका समाचारहरू सार्वजनिक भइरहेका बेला गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सम्भावना रहेका उच्च स्रोतले जनाएकाे छ।

नेपाली कांग्रेसको महासमितिको बैठकपछि सत्तारुढ गठबन्धनमा थप चिसोपना आएको चर्चाकाबीच बस्न लागेको गठबन्धनको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कांग्रेस महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमाथि माओवादीको असन्तुष्ट रहेको छ।

उपसभापति खड्काले माओवादीको सशस्त्र युद्धलाई औचित्यहीन टिप्पणी गरेका थिए भने महामन्त्री थापाले निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख गरेका थिए। यसैगरी कांग्रेसभित्र धर्म निरपेक्षताको विरुद्धमा पनि माहौल बढ्दै गएकाले यसबाट माओवादी झनै झस्किएको छ।

पछिल्लो समय माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गम्भीर छलफल गर्ने प्रतिक्रिया दिएका छन्। सोमबारको गठबन्धन बैठकको तयारीका लागि माओवादी र कांग्रेसले आ-आफ्नै तयारी पनि गरेको बुझिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाकाबीचमा छलफल भएको छ भने प्रधानमन्त्री प्रचण्डले पनि पार्टीमा गम्भीर छलफल गरेका छन्।

अहिले कांग्रेस सभापति देउवाले गठबन्धनको बैठकबाट माओवादीलाई थप विश्वासमा ल्याउने बरु मन्त्रिपरिषद् पुनर्गठनमा साथ दिने तयारीका साथ छलफल अघि बढाएको कांग्रेसकै नेताहरूले बताउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 March 2024
Website | + posts