चिनियाँ नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष साँस्कृतिक प्रदर्शन

चिनियाँ नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष साँस्कृतिक प्रदर्शन : Icon Khabar

भक्तपुर, फागुन २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्य तथा नेपालस्थित चिनियाँ राजदूत महामहिम छन सोङज्यूको विशेष आतिथ्यमा चिनियाँ नयाँ वर्ष २०२४ (ड्रयागन वर्ष) को अवसरमा साँस्कृतिक प्रदर्शनी कार्यक्रम बुधबार लाय्कु, भक्तपुरमा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले चिनियाँ कम्युनिष्ट पार्टीका नेता सि चिनफिङ र सम्पूर्ण चिनियाँ जनतामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै नेपाल–चीनबीचको मित्रता र सांस्कृतिक सम्बन्ध युगौंदेखिको पुरानो हो भने। उनले भने – “तेह्रौं शताब्दीमा नेपालका वास्तुकलाविद् अरनिको चीन गएर निर्माण भएको श्‍वेत चैत्य नेपाल–चीनबीचको सयौं वर्ष अघिदेखिको मित्रता र सांस्कृतिक सम्बन्धको बलियो प्रमाण हो ।”

उनले चीनको स–छुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुई, पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाका पार्टी समिति सचिव युआन चियाच्युन, सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका कम्युनिष्ट पार्टीका सचिव वाङ च्युङचङले भक्तपुरको अवलोकन भ्रमण गरेको स्मरण गर्दै भक्तपुर नगरपालिका र चीनको लसान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य स्थापना गर्न सहमत भइ हस्ताक्षर भएको जानकारी गराए।

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि भगिनी सम्बन्ध रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको शान–नान नगरपालिकाले स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको बताउदै उनले संकटको बेला सहयोग गरेर चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले एक असल छिमेकीको उदाहरण प्रस्तुत गरेको उल्लेख गरे।

कार्यक्रमका विशेष अतिथि राजदूत सोङले भक्तपुरलाई नेपालको साँस्कृतिक राजधानीको संज्ञा दिदै भक्तपुर नगरभित्रका विशिष्ट कला र संस्कृतिले संसारभरका पर्यटकहरुलाई आकर्षित गरेको जानकारी दिए । उनले “चिनियाँ नयाँ वर्ष सबैभन्दा पुरानो र लाखौं परिवारहरुलाई एकताबद्ध गर्ने र पुरानोलाई त्यागेर नया“ अंगाल्ने उत्सव हो” भने।

उनले गत वर्ष सम्पन्न संयुक्त राष्ट्रसंघको ७८ औं महासभाले चिनियाँ नयाँ वर्षको दिनलाई छुट्टीको दिन घोषणा गर्ने प्रस्तावलाई एकमतले पारित गरेको जानकारी दिँदै यो राष्ट्रपति सी चिनफीड्डले अगाडि सारेको “विश्वब्यापी सभ्याता अगुवाई”को एक ज्वलन्त नमूना भएको उल्लेख गरे।

चिनियाँ नया“ वर्षको अवसरमा पहिलो पटक श्रृंखलाबद्ध कार्यक्रम आयोजना गरेको बताउँदै उनले यस क्रममा युन–नान प्रान्तको अन्तर्राष्ट्रिय बसन्त महोत्सव तथा नयाँ वर्षको स्वागत कार्यक्रम, आनहुई प्रान्त साँस्कृतिक टोलीको शुभ बसन्त महोत्सव, तिब्बती नया“ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम, चिनियाँ लालटिन प्रदर्शनीलगायतका कार्यक्रमहरुले नेपालमा चिनियाँ नयाँ वर्षको उत्साहपूर्ण वातावरण सृजना गरेको बताए।

राजदूत सोड्डले यो वर्ष चीनको जनगणन्त्र स्थापनाको ७५ औं र आउँदो वर्ष चीन–नेपाल दौत्य सम्बन्धको ७० औं वर्षगांठ भएको हुँदा दुबै देशको सम्बन्धमा नयाँअवसर र सम्भावनाहरु रहेको जानकारी दिँदै आगामी दिनमा नेपाल चीन बीच विभिन्न क्षेत्रमा सहयोग आदान प्रदान र सहकार्यको नयाँ वातावरण सृजना हुनेमा आशा व्यक्त गरे।

कार्यक्रममा जनवादी गणतन्त्र चीनको तर्फबाट ड्रयागन नाच, सिंह नाच र छीलीन नाच प्रस्तुती गरिएको थियो भने भक्तपुर नगरपालिकाको तर्फबाट रामचन्द्र नाच (माक प्याखं), लाखे नाच र सिंह नाच प्रस्तुत भएको थियो ।

कार्यक्रम पश्चात पचपन्न झ्याले दरबार साकोठा हुँदै टौमढीसम्मको छोटो साँस्कृतिक र्‍यालीमा ६ वटै नाच सहित प्रमुख अतिथि, अतिथि, जनप्रतिनिधिहरु, कर्मचारीहरु, चिनियाँ कलाकारहरु, नेपाली कलाकारहरु समेतको साँस्कृतिक टोली तथा नगरबासीहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2024
Website | + posts