नेपाल–भारत नाकामा सुरक्षा चेकजाँच कडा गर्दै

नेपाल–भारत नाकामा सुरक्षा चेकजाँच कडा गर्दै : Icon Khabar

नेपालगन्ज, माघ ७ । भारतको अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र ‘गणतन्त्र दिवस’ को पूर्वसन्ध्यामा यहाँस्थित नेपाल–भारत नाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।

माघ ८ गते सोमवारका दिन अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान र माघ १२ गते (२६ जनवरी) मा हुन लागेको गणतन्त्र दिवस कार्यक्रमलाई मध्यनजर गर्दै नेपाल–भारत नाकामा दुवै देशका सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा पारेका हुन् ।

पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका जमुनाहा नाकामा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षा निकाय एसएसबी दुवैले सुरक्षा जाँचमा कडाइ गरेको जनाइएको छ ।

सोमवार अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ लगायत सयौँ वरिष्ठ नेता र मन्त्रीहरूको सहभागिता रहने बताइएको छ ।

सीमा नाकामा सुरक्षा कडा पार्ने निर्देशन आएकाले सोहीअनुरूप गरिएको भारत रुपैडिहाका थाना प्रमुख शमशेर सिंहले बताए । सोही कारणले अहिले नाकामा चेकजाँच अति नै कडा पारिएको र दुवै देशका सुरक्षाकर्मीले साइड नाकामा संयुक्त गस्ती पनि गरिरहेको बताए ।

यता, नेपाली सुरक्षा अधिकारीले पनि भारतीय सुरक्षा अधिकारीको आग्रहमा नेपालतर्फको नाकामा पनि सुरक्षा चेकजाँचलाई कडा पारिएको जनाएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अयोध्यामा श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान कार्यक्रम र गणतन्त्र दिवसको अवसरमा सुरक्षा व्यवस्था कडा बनाउन भारतीय पक्षले आग्रह गरेकोले सोही बमोजिम सुरक्षा निगरानी बढाइएको बताए ।

यसैबिच नाकाको सुरक्षा व्यवस्थाबारे जानकारी लिनुका साथै थप निर्देशन दिने उद्देश्यले नेपाल र भारतका जिल्ला सुरक्षा प्रमुखहरूले सीमा नाकाको निरीक्षण गरेका छन्।

नेपाल र भारतको सीमावर्ती जिल्लाका प्रहरी र प्रशासन प्रमुखले नेपाल–भारत जमुनाहा नाका र रुपैडिहा नाकामा पुगेर सुरक्षा व्यवस्था निरीक्षण गरेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

सीमा नाकाको निरीक्षण र अनुगमनमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोरा, भारत बहराइचका डिस्ट्रिक्ट मजिस्ट्रेड मोनिका रानी र प्रहरी प्रमुख एसपी वृन्दा शुक्लालगायत नाकाका सुरक्षा अधिकृतहरूको सहभागिता थियो । – गोरखापत्रबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2024
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग