नेपाल–भारत नाकामा सुरक्षा चेकजाँच कडा गर्दै

नेपाल–भारत नाकामा सुरक्षा चेकजाँच कडा गर्दै : Icon Khabar

नेपालगन्ज, माघ ७ । भारतको अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र ‘गणतन्त्र दिवस’ को पूर्वसन्ध्यामा यहाँस्थित नेपाल–भारत नाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।

माघ ८ गते सोमवारका दिन अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान र माघ १२ गते (२६ जनवरी) मा हुन लागेको गणतन्त्र दिवस कार्यक्रमलाई मध्यनजर गर्दै नेपाल–भारत नाकामा दुवै देशका सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा पारेका हुन् ।

पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका जमुनाहा नाकामा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षा निकाय एसएसबी दुवैले सुरक्षा जाँचमा कडाइ गरेको जनाइएको छ ।

सोमवार अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ लगायत सयौँ वरिष्ठ नेता र मन्त्रीहरूको सहभागिता रहने बताइएको छ ।

सीमा नाकामा सुरक्षा कडा पार्ने निर्देशन आएकाले सोहीअनुरूप गरिएको भारत रुपैडिहाका थाना प्रमुख शमशेर सिंहले बताए । सोही कारणले अहिले नाकामा चेकजाँच अति नै कडा पारिएको र दुवै देशका सुरक्षाकर्मीले साइड नाकामा संयुक्त गस्ती पनि गरिरहेको बताए ।

यता, नेपाली सुरक्षा अधिकारीले पनि भारतीय सुरक्षा अधिकारीको आग्रहमा नेपालतर्फको नाकामा पनि सुरक्षा चेकजाँचलाई कडा पारिएको जनाएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अयोध्यामा श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान कार्यक्रम र गणतन्त्र दिवसको अवसरमा सुरक्षा व्यवस्था कडा बनाउन भारतीय पक्षले आग्रह गरेकोले सोही बमोजिम सुरक्षा निगरानी बढाइएको बताए ।

यसैबिच नाकाको सुरक्षा व्यवस्थाबारे जानकारी लिनुका साथै थप निर्देशन दिने उद्देश्यले नेपाल र भारतका जिल्ला सुरक्षा प्रमुखहरूले सीमा नाकाको निरीक्षण गरेका छन्।

नेपाल र भारतको सीमावर्ती जिल्लाका प्रहरी र प्रशासन प्रमुखले नेपाल–भारत जमुनाहा नाका र रुपैडिहा नाकामा पुगेर सुरक्षा व्यवस्था निरीक्षण गरेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

सीमा नाकाको निरीक्षण र अनुगमनमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोरा, भारत बहराइचका डिस्ट्रिक्ट मजिस्ट्रेड मोनिका रानी र प्रहरी प्रमुख एसपी वृन्दा शुक्लालगायत नाकाका सुरक्षा अधिकृतहरूको सहभागिता थियो । – गोरखापत्रबाट साभार

Published Date: 21 January 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न