भक्तपुरमा कम्पोष्ट मल बिक्री वितरण तथा माटोको गुणस्तर विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुरमा कम्पोष्ट मल बिक्री वितरण तथा माटोको गुणस्तर विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर २५ । भक्तपुर नगरपालिकाको आयोजनामा कम्पोष्ट मल बिक्री वितरण तथा माटोको गुणस्तर विषयमा सहकारी तथा कृषकहरुबीच सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माटोको सर्वराशक्तिका लागि प्रांगारिक पदार्थको भूमिका प्रमुख रहने बताउँदै माटोको उर्वराशक्ति ठीकसँग थाहा पाउन किसानहरुले आफ्नो माटोको परीक्षण प्रयोगशालामा जाँच्नु आवश्यक भएको बताए।

कृषि क्षेत्रको विकास नै अन्य पूर्वाधारहरुको विकासको आधार भएको बताउँदै उनले नेपाल कृषि कर्मको लागि उपयुक्त ठाउँ भए पनि युवाहरु विदेशिने समस्याका कारण नेपालमा कृषि प्राविधिकहरुको अभाव रहँदै आएको बताए।

विकास निर्माणभन्दा राजनैतिक चेतना महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भक्तपुर आजको अवस्थामा आइपुग्नुमा यहाँका राजनैतिक कार्यकर्ता र किसान कार्यकर्ताहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गरे।

सरकारले युवाहरुलाई विदेश पठाएर देश युवाविहीन अवस्थामा पुगेको र कृषि भूमि नै बाँझो हुन थालेको प्रसंग जोड्दै प्रमुख प्रजापतिले सरकारले भारतीय तरकारी आयात बन्द गरेमा नेपाली किसानहरुले आफ्नो बालीको उचित मूल्य पाउने र कृषकहरु उत्साहित हुने बताए ।

सरकारले नयाँ नयाँ विउ विजन र आधुनिक खेतीको लागि आवश्यक बन्दोबस्त गर्नुपर्ने उनले बताए।

भक्तपुर नपा कृषि समितिका सदस्य गोविन्द दुवालले गुणस्तरहीन रसायनिक मलको प्रयोगका कारण किसानहरुको उत्पादनमा कमी आएको बताउँदै किसानहरुले अनुदानको मल पनि दोब्बर मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताए।

भक्तपुर नपाका कृषि प्राविधिक रवि ख्याजुले मल खाद व्यवस्थापन, जथाभावी रसायनिक मलको प्रयोगको नकारात्मक असर र त्यसलाई न्युनीकरण गर्न प्रांगारिक मलको प्रयोग र फाइदाको विषयमा प्रष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 December 2023
Website | + posts