भक्तपुरमा योमारी पुन्हीको अवसरमा सम्पदा पदयात्रा हुने

भक्तपुरमा योमारी पुन्हीको अवसरमा सम्पदा पदयात्रा हुने : Icon Khabar

भक्तपुर, मंसिर २२ । भक्तपुर नगरपालिकाले योमरी पुन्हीको अवसरमा सांस्कृतिक नगर भक्तपुरको परम्परागत नेवारी परिकार योमरी उत्सव र नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका साथ ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित २०८० पुस १४ गते शनिबार सांस्कृतिक सम्पदा पदयात्रा गर्ने भएको छ ।

भक्तपुर नगरपालिकाले सांस्कृतिक पदयात्रा गर्ने विषयमा सम्बन्धित सरोकारवालाहरुसँग मंसिर २१ गते छलफलको आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले २०७९ सालमा ‘भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा गरेको र यो वर्ष भक्तपुरको बहाबही चिनाउने उद्देश्यले ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नाराका साथ उक्त पदायात्रा आयोजना गरिने बताए।

उनले भक्तपुरमा रहेका सम्पदाहरुबारे स्थानीय जनतालाई जानकारी दिने उद्देश्यले सम्पदा पदयात्राको आयोजना गर्न लागेको बताए ।
सम्पदा चिनाउने, त्यसबारे अध्ययन अनुसन्धान गर्नेहरुलाई पनि अवसर दिने, बहाबहीको अवस्था बुझ्ने र नगरभरि छरिएर रहेको बहाबहीको अवस्थाबारे अभिलेखीकरण गरी नयाँ पुस्तालाई जानकारी दिने समेत कार्यक्रमको उद्देश्य रहेको स्पष्ट पारे।

छलफलमा उपस्थित विभिन्न गुँला बाजा खलःका प्रतिनिधिहरुले भक्तपुर नपाको सकारात्मक काममा आफूहरुबाट सँधै साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

भक्तपुर नपाको आयोजनामा २०८० पुस १४ गते शनिबार हुने सांस्कृतिक सम्पदा पदयात्रा भनपा वडा नं. ५ टौमढीबाट सुरु भई भनपा ७ याता गोल्मढीमा पुगी सम्पन्न गरिने कार्यक्रम छ । उक्त पदयात्रा बिहान ११ बजेबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0
Published Date: 08 December 2023
Website | + posts