गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको उडान नियमित संचालन गर्नुपर्ने माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको उडान नियमित संचालन गर्नुपर्ने माग : Icon Khabar

बुटवल, मंसिर  १७ । लुम्बिनीका पर्यटन व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तराष्ट्रिय उडान नियमित सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले आइतबार निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई काठमाडौंस्थित कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा गौतमवुद्ध विमानस्थल लक्षित गरी होटल तथा पर्यटन व्यवसायमा निजी क्षेत्रको ६० अर्ब बढी लगानी भइसकेकाले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा लगानी असुरक्षित भएको उल्लेख गरिएको छ । व्यवसायीको लगानी सुरक्षाका लागि सरकारी स्वामित्वको निगमले नियमित राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ ।

नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारी र पूर्वअध्यक्ष सञ्जीव जोशीसहितको प्रतिनिधिमण्डलले जतिसक्दो छिटो भैरहवाबाट नियमित उडान गराउन माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै निगमका नायब महाप्रबन्धक कालाखेतीले हाल निगमका चारवटा मात्रै जहाज भएकाले भैरहवाबाट नियमित उडानका लागि समस्या भएको तर सरकारले सहजीकरण गरेमा नियमित उडान गर्न सकारात्मक रहेको बताएका नाट्टाका पूर्वअध्यक्ष अधिकारीले जानकारी दिए ।

विमानस्थलबाट निगमले भैरहवा-काठमाडौं र भैरहवा -दिल्ली उडान गरेमा फुल बुकिङ गराउन नाट्टा र ट्राभल व्‍यवसायीले सहकार्य गर्ने पूर्वअध्यक्ष सञ्जीव जोशीले प्रतिबद्धता जनाए ।

हाल भैरहवाबाट बुद्ध, यति, श्री एअरलायन्सका गरी १५ वटा जहाजले उडान भर्दै आएका छन् । यसका साथै प्रतिनिधिमण्डलले प्रधानमन्त्री, पर्यटनमन्त्री, श्रममन्त्रीसँग समेत भेटेर भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि पहल गर्न लिखित रुपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

यसअघि भैरहवा क्षेत्रका ३२ वटा संस्थाले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनको माग गर्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी विमान कम्पनी आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाजबाट नियमित सेवा सुरु गर्नुपर्ने व्यवसायीको माग छ ।

माग सम्बोधन नभए उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिने, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन घोषणा गरिएको छ ।

विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएको करिब १५ देखि २० वटा ठूला होटलहरु बैंकले लिलामी गरिसकेको व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2023
Website | + posts