सूर्यविनायक–रत्नपार्क द्रुतबस सेवालाई प्रभावकारी बनाइने

सूर्यविनायक–रत्नपार्क द्रुतबस सेवालाई प्रभावकारी बनाइने : Icon Khabar

काठमाडौं, मंसिर ६ । असोज ३ गते संविधान दिवसको अवसर पारेर सूर्यविनायक–रत्नपार्क द्रुतबस सेवा सुरु गरिएको थियो । तर, सेवा सुरु भएको दुई महिना बित्दा द्रुतबस सेवा बन्द हुने अवस्थामा पुगेको छ । साँघुरो सडकमा सडक नै कब्जा गरेर नयाँ सुविधाहरु लागु गर्दा प्रभावकारी नभएपछि यो सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयले पहल थाल्ने जनाएको छ ।

राजधानीमा बढ्दो सवारी चापलाई दृष्टिगत गर्दै भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म ४५ मिनेटको दूरीमा चल्ने गरी बस सेवा सुरु गरिएको थियो । सडकको दायाँ र बायाँ रातो रङ पोतेर डेडिकेटेड लाइन नै बनाएर बस सेवा सञ्चालनमा ल्याइएको थियो । तर, उक्त डेटिकेडेट लेनमा समेत अन्य सवारी साधन, मोटरसाइकलहरु गुड्न थालेपछि द्रुतबस सेवा प्रभावकारी रुपमा सञ्चालन हुन सकेन ।

यातायात व्यवस्था विभागको सहकार्यमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २५ वटा बसबाट यो सेवा सुरु गरेको थियो । यी बस गुड्नका लागि समय समेत तोकिएको थियो । कार्यालय समयमा बढी जाम हुने भएकाले सर्वसाधारणलाई सहजता पुर्याउने उद्देश्यले बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ६ बजेसम्म चल्ने गरी यो सेवा सञ्चालनमा ल्याइएको थियो ।यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार द्रुतबस सेवालाई बन्द हुन नदिई अझ प्रभावकारी बनाउँदै लगिने बताए।

उनले भने, “द्रुतबस सेवा बन्द हुन लाग्यो भनेर गलत प्रचार गरिएको छ । तर, यसलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ । अहिले दशैँ तिहारको बिचमा मात्र गाडीको सङ्ख्या कम भएको हो ।अब बढ्छ ।”

उनका अनुसार दशैँ, तिहारमा बसहरु बाहिर पठाउनुपर्ने भएको र उपत्यकामा द्रुतबसमा चढ्नेको संख्या पनि कम हुने भएका कारण गाडीको संख्या कम भएको हो ।यो बस सेवा सञ्चालन हुने डेडिकेटेड लाइनमा नै अन्य सवारीहरु पनि सञ्चालन हुँदै आएपछि द्रुतबस सेवा प्रभावित बनेको छ ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले द्रुतबस सेवा ट्राफिक व्यवस्थापनका कारण प्रभावित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “द्रुतबस सेवा सञ्चालनमा ट्राफिक व्यवस्थापन मुख्य चुनौतीको रुपमा छ । द्रुतबस सेवाका लागि छुट्याइएको लेनबाट अन्य सवारीहरु पनि गुड्दा समस्या भएको छ ।”

द्रुतबसलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा यातायात व्यवस्था विभागसँग निरन्तर छलफल भइरहेको उनको भनाइ छ । उनले भने, “द्रुतबस सेवालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रयासमा छौँ । यो सेवा बन्द हुँदैन । अहिले ट्राफिक व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्दै लैजानेछौँ ।”

अहिले १५ वटा द्रुतबस सञ्चालनमा रहेको उनले बताए । बिहान ८ बजेदेखि नै द्रुतबस चलाउने र प्रत्येकलाई पाँच–पाँच मिनेटमा छुट्ने गरी व्यवस्थापन मिलाउने विषयमा पनि छलफल चलिरहेको उनको भनाइ छ ।
– साभार गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 November 2023
Website | + posts