बुक बिल्डिङ्ग प्रक्रियामार्फत आजदेखि सर्वोत्तम सिमेन्टको शेयर निष्काशन तथा बिक्री खुला

बुक बिल्डिङ्ग प्रक्रियामार्फत आजदेखि सर्वोत्तम सिमेन्टको शेयर निष्काशन तथा बिक्री खुला : Icon Khabar

काठमाडौँ, मंसिर ६ । बुक बिल्डिङ विधिबाट प्रारम्भिक निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको आइपिओमा योग्य संस्थागत लगानीकर्ताले आज मंसिर ६ देखि आवेदन दिन सक्ने छन् ।

कम्पनीको कुल जारी पुँजीको १२.९०३३ प्रतिशतले हुने ६० लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट जारी गर्न अनुमति पाएकोमा त्यसको ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीको सेयरको आधारमूल्य ५०१ रुपैयाँ तय गरेर योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको थियो । उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

यस अनुसार योग्य संस्थागत लगानीकर्ताले बिक्री मूल्यको माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि ६०१.२० रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४००.८० भित्र रहेर आवेदन फारम भरी शीलबन्दी गरेको गोप्य बोलपत्र फारम नेप्सेमा बुझाउनुपर्नेछ । निष्कासित सेयर पूर्ण रुपमा बिक्री भए कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र बाँडफाँड हुनेछ । यस आइपिओमा संस्थागत लगानीकर्ताले मङ्सिर १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

संस्थागत लगानीकर्तामार्फत यसरी निर्धारण भएको कटअफ प्राइसमा १० प्रतिशत छुट दिई कम्पनीले बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नेछ । बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा कम्पनीले २०७९ असार २८ गते निवेदन दिएको थियो । लामो विवादपछि सर्वोत्तम सिमेन्टको आइपिओ प्रक्रिया अघि बढेको हो । यस कम्पनीको आइपिओ नै नेपालमा बुक बिल्डिङ विधिबाट बाँडफाँड हुन लागेको पहिलो आइपिओ हो ।

कम्पनीले पहिले ६२६.२५ रुपैयाँ आधारमूल्य तय गरि माथिल्लो सीमा ७५१.५ रुपैयाँ र तल्लो सीमा ५०१ रुपैयाँ कायम गरि संस्थागत लगानीकर्तालाई आइपिओ जारी गर्न लागेको थियो । तर पछि देशको समग्र आर्थिक अवस्था देखाउँदै आधारमूल्य परिमार्जन गरेको कम्पनीको भनाई छ ।

आर्थिक वर्ष २०७९/८० को असारसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी पाँच रुपैयाँ १३ पैसा रहेको छ भने नेटवर्थ १ सय ८५ रुपैयाँ १९ पैसा रहेको छ । लगानीको साधारण लगानी फिर्ता हुने अवधि (क्यास ब्याक पिरियड) ३ वर्ष ९ महिना रहेको छ भने डिस्काउन्टेड क्यास ब्याक पिरियड ४ वर्ष ७ महिना रहेको छ ।

Published Date: 22 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु