पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै

पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै : Icon Khabar

रसुवा, मंसिर ६ । पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।

उनीहरूको साथबाट रु १३ लाख ८८ हजार चार सय बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा आजै बुझाउने तयारी भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए।

गत आइतबार रु १४ लाख ९१ हजार छ सय ८२ बराबरको सुनका औँठीसहित तीन जना पक्राउ गरी भन्सार कार्यालय बुझाई सकिएको प्रहरीले बताएको छ । अवैधरूपको सुन बोकी ल्याउने काम नगर्न नगराउन नेपाल प्रहरीले व्यापारीदेखि सर्वसाधारण सबैमा अनुरोध गरेको छ । रासस

Published Date: 22 November 2023