काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार चालकलाई कारबाही

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार चालकलाई कारबाही : Icon Khabar

काठमाडौँ, कात्तिक १६ । ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए । चाडवाडका समयमा नियम उल्लङ्घन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उनले बताए।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टका अनुसार आज (पछिल्लो २४ घण्टा)मै दुई हजार दुई सय १८ चालक कारबाहीमा परेका छन् । त्यसमा तीव्र गतिमा सवारीसाधन चलाउने मात्रै तीन सय रहेका छन् भने लेन क्रस गरेर गाडी चलाउने एक सय ५२ चालक कारबाहीमा परेका छन् । यस्तै मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका उनले बताए।

यसअघि यही कात्तिक १५ गते दुई हजार चार, कात्तिक १४ गते एक हजार पाँच सय २७ र १३ गते एक हजार पाँच सय ८७ चालकलाई कारबाही गरिएको कार्यालयले जानाएको छ । यस्तै १२ गते एक हजार एक सय ५५, कात्तिक ११ गते एक हजार सात सय ६८, १० गते एक हजार तीन सय ५५ र कात्तिक ९ गते एक हजार ९७ चालक कारबाहीमा परेका थिए ।

प्रहरीको अध्ययनले तीव्र गतिमा सवारीसाधन चलाउँदा उपत्यकामा बढी दुर्घटना भएका छन् । त्यसैले उपत्यकाको चक्रपथका विभिन्न क्षेत्रमा स्वचालित क्यामरा जडान गरेरै गति मापन गरी कारबाही गरिएको छ भने ठाउँठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी छ । यस्तै आकस्मिकरुपमा जाँच अभियानमार्फत नियम उल्लङ्घनविरुद्ध कारबाही जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए।

Published Date: 02 November 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न