आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै

आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै : Icon Khabar

काठमाडौँ, कार्तिक ५ ।  बडादशैंको आठौं दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ ।

नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ।

कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभ्रंस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ।

आजै सो समुदायले घरघरमा दशैँको मासु भित्र्याएका छन् । समुदायमा टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैँको मासु भित्र्याएको हो ।

मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

Published Date: 22 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग