कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा डेंगुबाट १७ जनाको मृत्यु

कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा डेंगुबाट १७ जनाको मृत्यु : Icon Khabar

झापा, असोज १० । डेंगु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् ।

तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए।

कोशी प्रदेशको १४ जिल्लामै डेंगु फैलिएको छ । उनका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना सङ्क्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उनको भनाइ छ । उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ ।

गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ । डेंगुका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेंगुका बिरामीको उपचार भइरहेको छ ।

साउनदेखि हालसम्ममा तेह्रथुममा दुई सय ११, पाँचथरमा तीन सय ३८, इलाम पाँच सय ३५, उदयपुर आठ सय १६, धनकुटामा चार सय ३२, भोजपुरमा तीन सय ३१, सङ्खुवासभा आठ सय ६७, ओखलढुङ्गा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेङ्गुका बिरामी फेला परेका छन् ।

डेंगु सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेङ्गुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि डेंगु सङ्क्रमितको सङ्ख्या झन् बढ्दो रहेको छ ।

स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेंगुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेंगुका बिरामीमा देखिन्छन् । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2023
Website | + posts