नेपाल एसियाड महिला फुटबलबाट बाहिरियो

नेपाल एसियाड महिला फुटबलबाट बाहिरियो : Icon Khabar

हाङझाउ, असोज ८ । १९औं एसियाली खेलकुद (एसियाड)को महिला फुटबलमा नेपाल समूह चरणबाट बाहिरिएको छ । समूह डी अन्तर्गत सोमबार भएको खेलमा नेपाल पूर्व विश्वकप विजेता जापानसँग ८–० गोलको हार खेपेपछि बाहिरिएको हो ।

यसअघि नेपाल पहिलो खेलमा भियतनामसँग २–० गोलले पराजित भएको थियो । लगातार दुई हारपछि एसियाड फुटबलमा अगाडिको यात्रा सकिएको नेपालले बिहीबार समूहको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

नेपालका लागि बंगलादेशसँगको खेल प्रतिष्ठाको लडाईं हुनेछ । समूहमा दुई खेल जितेको जापान र भियतनाामको समान ६ अङ्क भएको छ । एसियाड महिला फुटबलमा नेपालको यो पहिलो सहभागिता हो । पहिलो सभागितामै नेपालको प्रदर्शन कमजोर रह्यो ।

जुडो : मनीता, जंग र पुनमको हार

जुडोमा सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए । नेपालका मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।

महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भए । पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए ।

बास्केटबल : नेपाल जापानसंग पराजित

एसियाली खेलकुदको महिला यु–२३ थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ ले पराजित गरे। नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान २–२ स्कोर गरे । नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् ।

समूह ‘बी’ मा चाइनिज ताइपेईं र काजाकिस्तान पनि छन् । नेपालले बुधबार काजाकिस्तानसंग तथा ताइपेईंसंग शुक्रबार प्रतिस्पर्धा गर्ने छ ।

साइक्लिङ : सुरज र उषाले दूरी पूरा गरेनन्

एसियाली खेलकुदको साइक्लिङमा नेपालका सुरज राना मगर र उषा खनालले सोमबार निर्धारित दूरी तय गर्न असफल रहे । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए । योसंगै साइक्लिङमा नेपालको चुनौती समाप्ता भएको छ । टोली मंगलबार स्वदेश फर्किदै छ ।

पुरुषको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोश्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जनाएका छन् । ५ ल्यापको प्रतिस्पर्धामा सुरजसंगै फिलिपिन्सका २ तथा दक्षिण कोरिया र युएइका १–१ खेलाडीले पनि दूरा पार गर्न सकेनन् । चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले कांस्यमा चित्त बुझाए ।

महिलाको २०.५६ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्दै गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जानकारी गराए । झेसौ स्पोर्ट्स सेन्टरमा भएको ४ ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सकिनन् । यो स्पर्धामा पनि चीनका खेलाडीले स्वर्ण र रजत कब्जा गरे । इरानी खेलाडीले कांस्य हात पारे ।

उसु

एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको उसुको थाउलोअन्तर्गत महिला छाङछ्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । उनले ९.४१० अंक जोडिन् ।

थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे । उनले ९.०१३ अंक स्कोर गरे । अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८.९७३ अंक ल्याए ।

फेन्सिङ

हाङझाव एसियाडको तेस्रो दिन सोमबार हाङझाव डायान्जी विश्वविद्यालय जिम्नाजियमा फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामा पायस योञ्जनले ५ वटै खेलमा पराजय ब्यहोरे । पायस काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग ५–० तथा उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले स्तब्ध बने ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन, दक्षिण कोरियाका सानगुक हो र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित हुँदा उनको यात्रा समूह चरणबाट अघि बढेन ।

महिला फोइल व्यक्गिततर्फ पनि मन्दिरा थापाको यात्रा पनि समूह चरणमै टुंगियो । उनी हङकङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङ्गसँग समान ५–०, मकाउकी हियो ल्याम कुसँग ५–१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५–३ ले निरास बनिन् ।

दक्षिण कोरियाकी सिना होङसँग ५–३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५–१, सिंगापुरकी म्याक्सिन वाङ्गसँग ५–४ र चीनकी क्वइयानक्यान हुआङ्गसँग ५–० ले स्तब्ध बन्दा गोमा आर्चायको यात्रा पनि समूह चरणमै रोकियो ।

लनटेनिस

हाङझाव एसियाडअन्तर्गत लनटेनिसको पुरुष सिंगल्समा नेपालका प्रदीप खड्का दोश्रो चरणमा रोकिएका छन् ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा भएको खेलमा जापानका सिन्तोरो मोचिजुकीले प्रदीपलाई ७–५ र ६–१ को सोझो सेटमा पराजित गरे । पहिलो चरणमा प्रदीपले टिमोर लिस्टेका एन्टोनियो मेन्डेसमाथि ६–० र ६–० को सहज जित हात पारेका थिए ।
पुरुष सिंगल्समै हङकङका कोलम्यान वोङ चक लामले नेपालका अभिषेक बाँस्तोलालाई पहिलो चरणमा सीधा सेटमा ६–२ र ६–० हराए । प्रदीप र अभिषेक दुवैको खेल १ घण्टा १३ मिनेट चलेको थियो ।

मिक्स डबल्समा इन्डोनेसियाका अल्डिला सुत्जिदा र बेन्जामिन क्रिस्टोफरको जोडीले नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाए । खेल ५१ मिनेट चलेको थियो ।

महिला डबल्समा अभिलाषा विष्ट र माहिका राणाको जोडीको यात्रामा पनि पूर्णविराम लाग्यो । ५२ मिनेट चलेको खेलमा दक्षिण कोरियाका डायियोन ब्याक र बोयोङ जियोङको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६–१ र ६–० ले पाखा लगाए ।

अब नेपालले मिक्स डबल्समा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । मंगलबार सुनिरा थापा र प्रणव खनालको जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

बक्सिङ : रविन थापा सफल

हाङझाव एसियाडअन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापाले जित हात पारेका छन् । पुरुष ५१ केजीमुनि रविनले इन्डोनेसियाका दियो कोएबानुलाई ४–१ अंकले पराजित गरे । जितसंगै रविनले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

हाङझाव जिम्नाजियममा भइरहेको प्रतियोगितामा रविनले प्रिक्वाटरफाइनलमा उत्तर कोरियाका चोनयोङ सालाइलाई प्रतिद्वन्द्वी पाएका छन् ।

महिला ६६ केजीमुनि नेपालकी विनिता थापा मगर चाइनिज ताइपेईंकी चिन चेन नियनसंग आरएससीका आधारमा पराजित भइन् । पुरुष ७१ केजीमुनि नेपालका दीपेश लामा भारतका निशान्त देवसंग ५–० ले पछि परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 September 2023
Website | + posts