काठमाडौँ उपत्यकामा सापारु पर्वको विकासक्रम: संस्कृतिविद ओम धौभडेल

काठमाडौँ उपत्यकामा सापारु पर्वको विकासक्रम: संस्कृतिविद ओम धौभडेल : Icon Khabar

काठमाडौँ, भदौ १५ । काठमाडौँ उपत्यका लगायतका नेवार बस्तीहरुमा वर्ष भरि जसो विभिन्न जात्रा, चाडपर्व, पुजाआजाहरु देख्न सकिन्छ । प्रत्येक १५ दिन जसो अन्तरमा यहाँ गथामोग चहरे नाग पंचमी, सापारु, पंचदान, चोथा,यन्याँ पुन्हि, विजया दशमी, तिहार, सकिमना पुन्हि, योमरी पुन्हि, फागु पुन्हि,शिवरात्री,पसाचरे, विस्केट जात्रा,आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने, सिथी जस्ता असंख्या जात्रा चाडपर्वहरु मनाएको हुन्छ ।

जसमा जेष्ठ शुक्ल षष्ठीको दिन मनाइने सिथी बर्षको अन्तिम चाड हो भन्ने साउन कृष्ण चतुर्दशीको दिन मनाइने घण्टाकर्ण पर्व अर्थात गाथामोग च¥हे बर्षको पहिलो चाड मानिन्छ । यहि घण्टाकर्ण पर्व पछि नागपंचमी र तत्पश्चात भाद्र शुक्ल प्रतिपदाको दिनमा सापारु तथा गाईजात्रा पर्व धुमधामले मनाउँछ । यसदिनलाई बलीवर्द प्रतिपदा तथा वृषभ प्रतिपदाको नामले पनि चिनिन्छ । यसदिन “सायात“ गर्ने चलन छ । जुन नेवार समुदायले बर्षभरि भित्र दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने चलन हो । अर्थात “साँ” भन्नाले गाई र “यात” भनेको यात्रा वा जात्रा हो । तर यहाँ सा भनेको गाई भन्दापनि बसाहालाई बढी प्राथमिकता दिएको आभास हुन्छ । काठमाडौँ उपत्यका लगायत तत्कालिन नेपालमण्डलका साना ठुला बस्तिहरुमा आआफनै शैली तथा परम्परा अनुसार सापारु पर्व मनाउने चलन छ ।

काठमाडौँ उपत्यकाकै काठमाडौँमा दिवंगत ब्यक्तिको सम्झनामा ससाना बालबालिकाहरुलाई सिंगारपटार गरि गाईको चित्र अंकित कागजको मुखुण्डो तथा सिंग लगाई बसन्तपुर दरवार हनुमानढोका दरवार लगायत पुरानो नगरक्षेत्र घुमाउने गर्छ । कमरमा पटुका बाँधी दुई छेउ भूँईमा लत्रिने गरि नगर परिक्रमा गर्ने भएर यसलाई बासा लुयेगु पनि भन्ने चलन छ ।

कसैकसैले साना केटालाई शिरमा सेतो वा पँहेलो फेटा बाँध्न लगाई हातमा चिम्टा र कमलको फूल लिई फकिरको रुपमा नगर घुमाउने गर्छ ।कसै कसैले जिउँदो गाईलाई नै सिंगार गरि नगर परिक्रमा गराईन्छ । यता पाटन नगरमा सापारु चारदिन अगाडि नायखीँ च्वयेके भनि नगर भरिमा वर्षभरि दिवंगत भएका ब्यक्तिहरुको सम्झनामा तोकिएको ठाँउमा हुन सूचना दिन्छ । सो अनुसार सापारुको दिन तोकिएको ठाँउमा जम्मा भई बसाहाको मुखाकृति लगाएको केटाहरु अगाडि लगाई त्यसपछि पँहेलो कपडा ओधाएका गाईहरु र कुचो, गाईको दुध, लावा, अवीर, चमर पंखा आदि लिएका केटीहरु हुन्छ । त्यसपछाडि राधाकुृष्ण र गोपि गोपिनीहरुको भेषमा नगर परिक्रमा गर्ने चलन छ । यसमा भक्तपुरको सापारु अन्य ठाँउको भन्दा अलि विशेष नै मानिन्छ ।

भक्तपुरमा सापारु पर्व शुरु भएको संकेत अघिल्लो दिन अर्थात श्रावण शुक्ल पूर्णिमाको दिनबाट नै भएको हुन्छ । यसदिन भक्तपुरको पूर्व फर्केको नौवटा ढुङ्गेधारामा मुख धुने चलन छ । साथै बिहानैपख किसानहरु आआफनो खेतमा गई भ्यागुतोलाई क्वाँटी रोटी ख्वाई पूजा गर्ने गर्छ । जसलाई ब्यां जा नकेगु भनिन्छ । साथै घर घरमा नौथरि गेडागुडीले बनेको क्वाटी रोटी खाने गर्छ ।

भक्तपुर ब्यासीस्थित कालदह, भक्तपुर नगरकोटस्थित महादेव पोखरी लगायत ठाँउ ठाँउमा मेला लाग्छ । यसदिन साँझपख भक्तपुरतलेजुबाट घेन्ताघिंसी नाच भक्तपुर नगरको प्रदक्षिणा मार्ग भएर परिक्रमा गर्छ । तलेजुको सा (गाई) को दर्शन हेतु प्रदक्षिणा मार्गको वरपर असंख्य भक्तजनहरु बसेको हुन्छ । भक्तपुर तलेजुबाट घेंताघिसीं नाच ल्याएपछि भक्तपुरमा सापारु शुरु भएको मानिन्छ ।

भोलिपल्ट हुनुभन्दा अगावै मध्यरात देखि दिवंगत व्यक्तिको नाममा भक्तपुरवासीहरुले प्रतिकात्मक गाई घुमाउने गर्छ । बिहानको समयमा विशेषगरि डोकोमा बनाएका साँ अर्थात गाई घुमाउने गर्छ । वर्षभरिमा दिवंगत ससाना बालबालिकाहरुको सम्झनामा यस्ता डोकोमा बनाएका गाईहरु अर्थात दोकचा सा नगर परिक्रमा गराएको हुन्छ । कसै कसैले कालो माटोकोे बसाहा बनाई सिंगारिएको खटमा राखी बाजागाजाका साथ नगर परिक्रमा गराईन्छ ।

ससाना बालबालिकाहरुलाई सिंगारपटार गरि कमरमा पटुका बाध्नँ लगाई दुई टुप्पो भूईमा लत्रने गरि घुमाउने लाई वासा लुयेगु भन्ने चलन छ । भक्तपुरको सापारुको सवैभन्दा आर्कषण भनेको ताहासाँ अर्थात चारवटा लामो लामो बाँसहरुबाट बनेको गाई हो । अगाडि पछाडि कपडाको डोरी समाउने दुई भक्तपुर र ताहाँसा बोक्ने चार भक्तपुरले घरको दुई तल्ला जति अग्लो ताहासाँ विशेषगरि पाका उमेरका दिवंगत भक्तपुरको सम्झनामा बनाएको हुन्छ ।

यस्ता ताहासाँको अगाडि अगाडि बालक देखि बृध्दसम्म बाजाको तालमा लठ्ठी जुधाई घेन्ताघिंसी नाच नाच्दै आएको हुन्छ । जुन यहाँको सापारुको सवैभन्दा आर्कषण मानिन्छ । र घेन्ताघिसी नाचको साथ विभिन्न प्याँख तथा नाटकहरु देखाईन्छ । मृतकको नामबाट यसरी फरकफरक प्रकारका गाई नगर घुमाउनु पूर्व आआफना पुरोहित बोलाई विधिवत पुजा गराउने चलन छ ।

घरको पिखालखु अगाडि बलेसिमुनि राखी विधिवत पुजा तथा गौदान समेत गर्नु पर्छ ।त्यतिबेला पुरोहितले भाद्रमासे कृष्णपक्षे प्रतिपदां तिथौ बलीवर्दोत्सव कर्मणि भन्ने बाक्य लिने चलन छ । साँझतीर भक्तपुर वडा नं ४ स्थित लाकुलाछेबाट परालले मात्र बनेको सुयाम्ह भैल द्यः र भद्रकालीको ताहाँसा घेंताधिंसीको साथ नगर परिक्रमा गराँएपछि अन्य प्रतिकात्मक गाईहरु ल्याउने कार्य गर्नुहुदैन भन्ने मान्यता छ । साँझतीर भक्तपुर वडा नं ४ स्थित लाकुलाछेबाट परालले मात्र बनेको सुयाम्ह भैल द्यः र भद्रकालीको ताहाँसा घेंताधिंसीको साथ नगर परिक्रमा गरिन्छ।

जुन लाकुलाछे गहिटी हुदैं टौमढीमा तीन फेरा परिक्रमा गराएपछि नगरभरि प्रदक्षिणा मार्ग भएर पुरै भक्तपुर नगरमा जात्रा गरिन्छ । र अन्तमा गहिटीबाट अगःलोँह झंया झंया पाँउ बाजाको बोलका साथ चुपिंघाटमा लगि विर्सजन गरेपछि गाईजात्रा सम्पन हुन्छ । मानिस झैं देवदेवीको पनि मृत्यु हुन्छ भन्ने भावनाका साथ यसरी प्रत्येक वर्ष परालले बनेको सुयाम्ह भैल द्यः र भद्रकालीको ताहाँसा घुमाउने चलन चलिआएको छ ।

भक्तपुरको सापारु आठदिनसम्म विभिन्न देवदेवीहरुको जात्रा गरि कृष्णाष्टमीको दिन समापन हुन्छ । सापारु बाहेक अन्य दिनहरुमा समेत फर्मायसी रुपमा टोल टोलबाट घेन्ताघिसी ल्याउने चलनले थप रौनकता देख्न पाईन्छ । यसरी काठमाण्डौ उपत्यका बाहेक पोखरा, बाग्लुङ, धरान, पाल्पा जस्ता ठाँउहरुमा सापारु भब्य रुपमा मनाएको हुन्छ ।

वर्तमान समयमा सापारु पर्व नेवार समुदायको एक मौलिक पहिचानको रुपमा प्रख्यात हुदैं आएको छ । यहाँ हरेक बर्ष गरि आएको यो संस्कृति एउटा परम्पराको रुप मात्र धारणा गरेको छैन, यसले एउटा पर्वको रुप नै लिइसकेको सन्दर्भमा सापारु पर्वबारे भएका सत्यतथ्य उजागर गर्नु अत्यावश्यक भएको छ । यसै सन्दर्भमा हाम्रा इतिहासका पानाहरु एक अर्कासँग बाँझिने क्रममा कतिपय तथ्य पुन अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । सापारुको सन्दर्भमा पनि यस्तै खाँचो महशुस हुन आउँछ ।

एकथरि इतिहासकारहरुले सापारु पर्वको चलनसँग कान्तिपुरका राजा प्रताप मल्लको नाम जोडेको पाईन्छ । उनका कान्छा छोरा चक्रबर्तेन्दं्र मल्लको अल्पायुमै असामयिक निधन भएपछि शोकाकुल रानीलाई सान्त्वना दिने हेतुले उनले यो पर्व चलाएको कथन छ । यसै सन्दर्भमा सापारु पर्वको श्रेय भक्तपुरका राजा जगत प्रकाश मल्ललाई दिने इतिहासविद्हरु पनि भेटिन्छ । यता कोही कोहीले सापारु पर्वको श्रेय पाटनका राजा सिद्धीनरसिहं मल्ललाई दिने गरेको छ । यता जयस्थिति मल्लको शासनकाल अर्थात ने.स. ५०९–१० तिर एकजना भक्तपुरबासी विद्धानले नेपालभाषामा लेखेको गोपालराज वशावलीको पत्र संख्या ६१ मा ‘सायात’ भनी सापारु बारे स्पष्ट उल्लेख गरेको छ । जुन सायात अर्थात “साँ” भन्नाले गाई र “यात” भनेको यात्रा वा जात्रा हो । बास्तवमा उक्त वंशावली जयस्थिति मल्लको राज्यकालमा लेखिएको भएतापनि यसमा लिच्छवी कालदेखिका महत्वपूर्ण घटना इतिबृतिलाई समेटिने क्रममा यसरी सापारु पर्व बारे पनि लेखेका अवस्था हो ।

यहाँनेर सापारु पर्व नेवारहरुको सोह्र संस्कार मध्ये मृत्युसित सम्बन्धित संस्कार हो भन्ने स्पष्ट छ । नेवार समुदायमा दिवंगत ब्यक्तिको नाममा मृत्युको एघारौं वा बाह्रौँ दिनमा बसाहा डामेर छोड्ने चलन छ ,जसलाई वृषसर्ग भनिन्छ । जिउँदै यसरी साँढे छोड्नेको अलावा ढुङ्गाको साँढे बनाई गौचरनमा राख्ने पनि चलन थियो । यसरी छोडेको साँढेको प्रतिमा ठाँउठाँउमा देख्न सकिन्छ । तर यी दुवै कार्य खर्चिलो झझन्तिलो हुँदा यसको विकल्पको रुपमा दिवंगत ब्यक्तिको वर्षदिन भित्र आउने भाद्रशुक्ल प्रतिपदाको दिन गाई (बसाहा)को प्रतिक बनाई नगर परिक्रमा गर्दा पनि वृषसर्ग गरेको सरह मानि नेवार समुदायले सापारु मनाई आएको लाई यहाँ महत्वका साथ लिनुपर्छ ।

यसको एक प्रमाण त बौध्दायन नामको हस्तलिखित ग्रन्थ हो जसमा बसाहाको मूर्ति बनाएर त्यसलाई भाद्रकृष्ण प्रतिपदाको दिन विधिपूर्वक पुजा गरि आफू बसेको शहर घुमाउनाले वृर्षेात्सर्ग नामको पितृ तंरतारक यज्ञको पुण्य प्राप्त हुन्छ भनि स्पष्ट लेखेको छ ।त्यस्तै पण्डित रत्नराज राजोपाध्याय सँग रहेको गाईजात्रा पध्दति नामको अर्को हस्तलिखित ग्रन्थमा समेत पद्यम पुराण शिवबचन भनि भाद्रकृष्ण प्रतिपदा तथा सापारुको दिन वृषभलाई उपर्युक्त विधिअनुसार पूजा अर्चना गरी देश परिक्रमा गराई सायंकालमा भित्रयाएमा वृर्षोत्सर्ग गरेको फल प्राप्त हनेछ भनि स्पष्ट बताएको छ । यता गरुड पुराणमा समेत वृर्षोत्सर्ग कर्मको महत्वबारे लेखिएको हुँदा सापारुको दिन सायात गर्ने चलन नेवार सभ्यताको शुरुआतको दिन देखि चल्दै आएको परम्परा हो भन्नेमा कुनै अन्यौलता छैन । मृत्यु भएका आफन्तले स्वर्गीय सुख प्राप्त गरोस भन्ने चाहनाले हरहमेशा चिन्तित रहने नेवारहरु मृत्युको एक बर्ष अत्यन्त शुद्ध चोखोमा बस्ने परम्परा छ ।

विशेष गरि लिच्छवी कालको कयौं कालखण्डमा यहाँ ठुलठुला प्राकृतिक विपत्ति, रोग ब्याधी, महामारीबाट ठुलो धनजनको नोक्सान भएको संकेत पाईन्छ । जसमा मृत्युवरण गरेका असंख्य मानिसहरुको सदगति गर्न पाएनन् । त्यतिमात्र हैन, जेठ असार तिर मनसुन शुरु भई पानी परे पछि प्राकृतिक विपत्ती तथा रोगव्याधीले बर्षेनी थुप्रै मानिसहरुको अकालमा मृत्यु हुन पुग्दा धार्मिक रुपले दिवंगतहरुले स्वर्ग पाउने आधार यहि भाद्र शुक्ल प्रतिपदाको दिन रहयो । त्यो एक दिन स्वर्गको द्धार खोल्ने र त्यो समयमा मृतकको नाममा प्रतिकात्मक गाई बनाएर वैतरणी नदी पार गरि स्वर्ग जाने अभिप्रायले मनाएको नै सापारु पर्व होे। अर्काेतर्फ सापारु पर्वबाट वर्षभरिमा मृत्यु भएकाहरुको तथ्याङ्क तयार भई सचेतना जगाउने काम हुन पुग्यो र सापारु पर्व मार्फत अकाल मृत्युबाट बच्न र बचाउन सन्देश प्रवाह गर्याे ।

लिच्छवी कालमा विकास भएको सापारुको विकासमा भक्तपुरको महत्वपूर्ण स्थान रही अन्य ठाउँको सापारु भन्दा विशेष हुने गर्छ ।सापारु पर्व नेपालमण्डल भित्र प्राय सानाठूला बस्तिहरुमा मनाउने चलन भएतापनि भक्तपुरको सापारु अन्य ठाँउहरुकाने भन्दा विशेष प्रकारले मनाउने सन्दर्भमा यस पछाडि लुकेको एउटा पाटो बारे जानकारी राख्नु आवश्यक हुन्छ । लिच्छवी राजा आनन्द देवले चारैतिर अष्टमातृका देवीहरु तथा मध्य भागमा भैरव स्थापना गरि सम्पूर्ण नेपाल मण्डलको राजधानी भक्तपुर बनाए देखि यक्ष मल्लसम्म करिव ३६७ बर्षसम्म सम्पूर्ण नेपालमण्डलको राजधानी नै भक्तपुर थियो ।

राजधानी नगरको रुपमा तत्कालिन समयमा भक्तपुरले थुप्रै आरोह अवरोह भोग्नु पर्यो । तर सांस्कृतिक रुपले एउटा विशेष थलो बन्न पुग्यो । यसमा भक्तपुरमा राज्य गर्ने साहित्यिक राजा एवम यहाँका संस्कृतिप्रेमी जनताहरुको कारण संभव बन्न पुग्यो । सापारु जस्तो विरह एवम विछोडको क्षणलाई समेत सास्कृतिक रुपले धनी बनाई छाडे ।

अन्य पर्व झै यो पर्वले विशेष फस्टाउने मौका पायो र यता यक्ष मल्ल पछि भक्तपुरबाट कान्तिपुर पछि कान्तिपुरबाट ललितपुर विभाजन भैसकेपछि यी तीन राज्यहरु बीच हरेक क्षेत्रमा प्रतिस्पर्धा कायम भएको अवस्थामा आ आफ्नो ठाउँमा आ आफ्नो शैलीले सापारु विकास भयो । यसमा कान्तिपुरमा प्रतापमल्ल, भक्तपुरमा जगतप्रकाश मल्ल र पाटनमा सिद्धीनरसिंह मल्लको ठुलो योगदान रहेकोमा कुनै दुविधा छैन तर यतिलाई मात्र आधार बनाएर सापारु पर्वको श्रेय प्रतापमल्ल, जगतप्रकाश मल्ल, सिद्धी नरसिंह मल्ललाई दिनु न्यायोचित छैन । अनि गोपालराज वंशावलीलाई आधार बनाएर सापारु पर्वको श्रेय जयस्थिति मल्ललाई दिनु पनि मनासिव नरहेको अवस्थामा यस्तो महत्वपूर्ण पर्वबारे अझ गहन अध्ययन हुन सके थुप्रै सत्यतथ्य प्रकाशमा आउन सक्छ ।

लेखक: संस्कृतिविद ओम धौभडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 September 2023
ओम धौभडेल
+ posts