शाब्दिक अर्थः
भक्तपुर, चैत २६ । भक्तपुरको बिस्का:जात्रा बर्षभरि यहाँ मनाईने विभिन्न जात्राहरुमध्ये सवैभन्दा लामो अनि महत्वपूर्ण जात्रा मानिन्छ । यहाँ बिस्काको अर्थ के हो अति महत्वपूर्ण सवाल छ । त्यसको विश्लेषण गर्नु आवश्यक छ । र बिस्काको शाब्दिक अर्थ खोज्ने क्रममा ऐतिहासिक एवम आख्यान दुवैलाई मध्यनजर गरि छुट्टाछुट्टै रुपमा गर्न सकिन्छ । जुन एकअर्कासित फरक छ ।
आख्यानलाई आधार बनाएर हेर्ने क्रममा नागनागिनीको जात्राको रुपमा बि स्यात खात अर्थात सर्प मार्यो अनि झुण्डायो को अप्रभषं नै बिसक्यात भयो । जुन पछि बिस्का कहलिन पुग्यो । यता ऐतिहासिक प्रमाणको आधारलाई नजरअन्दाज गर्ने हो भन्ने बिश्वकेतु जात्राको अप्रभषं नै बिसक्यात हो । यसैलाई स्थानीय जनजिब्रा्ेले बिस्का बोलिन पुग्यो ।
शिर्षकको परिचय:
भक्तपुरको बिस्का जात्रा काठमाण्डौं उपत्यका र वरपरको तत्कालिन नेपाल मण्डलमा मनाउने विभिन्न जात्राहरुमध्ये एक महत्वपूर्ण जात्रा संस्कृति हो । भैरव, भद्रकाली , योसींद्यः को प्रमुख जात्रा हुने यो जात्राको प्राचीन स्वरुप चैत्र मसान्तको दिन योसीं द्यः उठाउने र बैशाखको पहिलो दिन उक्त योसीं ढाल्नु हो ।योसींद्यः मा एकजोडा ध्वजा हुन्छ । जसलाई कतै नागनागिनी भनि विभिन्न आख्यान किवंदन्ति प्रचलित छ । यहि ध्वजा नै बिश्वकेतु हो । जसलाई यहाँको स्थानीय भाषामा हलिंंपत भनिन्छ ।
जहाँ हलिंं भन्नाले विश्व अनि पत भन्नाले ध्वजा भनेर स्पष्ट छ । पछिल्ला समयमा यो विश्वध्वज अर्थात हलिंपत बिजयको प्रतिक वीर ध्वजा बाट समेत चिनियो। जहाँ एउटा ३५ हात लामो जसलाई भाले र अर्को ३४ हात लामो लाई पोथी मानिन्छ । र यो नागनागिनी पनि भनिन्छ । तर यसमा कुँदिएका अष्टमंगलका चिन्हहरु, भैरब, गणेश, त्रिशुल, षटकोण, त्रिकोण अग्नि ,शक्ति, बञ्चरो, ईन्द्रको बज्र, हिटिमगं, अनेक मण्डलचित्रहरु, चन्द्र सूर्य, फूलमालाहरु, कमलको फुल लगायत अनेक तान्त्रिक चित्रहरुबाट सु–सज्जित हुने क्रममा कतै नागनागिनीको संकेत भेटिदैन ।
बरु ध्वजाको छेउछाउमा रहेको नृपुर, बतासे घण्टा (फयगांं) र रंगीन धागोको आकर्षक बुट्टाहरुले ध्वजा अत्यन्त राम्रो देखिन्छ । हावामा लहराएका यी दुई ध्वजा एक आपसमा ठोकिदा वा हल्लिंदा फयगांको आवाजले अत्यन्त कर्णप्रीय संगित गुन्जेको हुन्छ । यहि ध्वजालाई प्रर्दशन गर्न बडेमाको सल्लाको रुख जसलाई योसींं भनिन्छ , यो नै वास्तविक भतmपुरको बिस्का जात्रा हो । यसलाई हालको स्वरुपमा आठरात नौ दिनसम्मको प्रचलन पछि विकास भएको देखिन्छ ।
चैत्र शुक्ल मसान्त चार दिन अगाडि देखि वैशाख ५ गतेसम्म आठरात नौ दिन सम्म मनाइने बिस्का जात्रा भित्र द्यःक्वाँहा बिज्याकेगु जात्रा, द्यःथाहाँ बिज्याकेगु भनिने भैरब भद्रकालीको जात्रा, योसीं थनेगु, योसीं क्वथेगु भनि चिनिने लिगों जात्रा, दुमाजु जात्रा, इन्द्रायणीको त्वारिवा जात्रा, बाराहीको टिप्वाः जात्रा, महाकाली महालक्ष्मीको ख जात्रा, ब्रह्मायणी माहेश्वरीको ख जात्रा, जेठागणेश बुल्चा भैरबको ख जात्रा, इनारे गणेश(सूर्यविनायक गणेश)को ख जात्रा, ल्हाः मरु योसीं जात्रा, छुम्ह गणेश जात्रा, द्यःस्वगं बियेगु जात्रा जस्ता थुप्रै जात्राहरु हुन्छ ।
भक्तपुरमा जस्तै वरपर थिमी, बोडे, नगदेश, कटुन्जे, गुण्डु, दधिकोट, ताथली, सुँडाल, साँगा, खड्पु, धुलिखेल, टोखा, थसी, सुनाकोठी, चौकोट जस्ता ठाँउहरुमा समेत आ आफ्नै प्रकारका जात्राहरुले बिस्केट मनाएको हुन्छ । जसमा थिमी बोडे नगदेशको ३२ खटको जात्रा लगायत ठाँउ ठाँउमा लिगों उठाई स्थानीय देवदेवीको जात्रा गर्ने चलन छ । यस वाहेक वैशाख १ गते मेष सक्रान्तीको दिन भक्तपुरको योसींखेल स्थित चुपींघाटमा दिनभर मेला लाग्छ ।
यता उहि दिन बिहान टोखाको सपन तीर्थ, दधिकोटको चरखण्डी तीर्थ र वागेश्वरीको वागेश्वर तीर्थमा मेला लाग्दछ । समग्रमा आठरात नौ दिनसम्म भक्तपुरलाई केन्द्र विन्दु वनाएर थुप्रै जात्रा तथा मेलाले बिस्का जात्रा सम्पन्न हुन्छ । कहिकतै यस जात्रासित जोडिएका कथा किवंदन्तिहरु क्हि न कहि सम्वन्धित भईरहेको हुन्छ ।
जनकहावतः
पहिलो लोक कथा
कुनै समयमा भक्तपुरका कुनै राजा राज्य गर्दथ्ये । उनका कोही छोरा थिएनन । एउटी अत्यन्त राम्री छोरी मात्र थिए । राजाले आफूपछि अब यो देशको राजा कसलाई बनाउने भन्ने दोधारमा परे । मन्त्रि एवम भारदारहरुको सल्लाह बमोजिम राजकुमारीसित बिबाह गरेको ब्यक्ति देशको राजा हुने भयो । राजकुमारीको एकजना योग्य राजकमारसित धुमधाम बिबाह पनि भयो । बिबाह पछि उनीहरु एउटै कोठामा सुत्न पुगे । भोलिपल्ट बिहान जव एउटा यस्तो घटना घट्न पुग्यो कि राजा देखि प्रजा सवै अच्चम भयो ।
हिजो मात्र राजकुमारीसित बिबाह गरेको राजकुमार त मृत अवस्थामा भेट्यो ।केही समय पछि राजकुमारीको बिबाह अर्को एक राजकुमार सित भयो । उनको पनि मृत्यु भोलिपल्ट भयो । यसरी राजकुमारीसित बिबाह गरेको राजकुमारहरुको भकाभक मृत्यु भएपछि बिबाहको भोलिपल्ट लाश उठाउने मुर्दा गुठि नै बनाउनु पर्यो । राजकुमारीसित बिबाह गर्ने पुरुष नै नपाउन थालेछ । हरेक दिन एक घरबाट केटा मान्छे दरवार जानु पर्ने भएछ । एकदिन एकजना राजकुमार शिकार खेल्दै यहि ठाँउ आईपुगेछ ।
राती त्यहि घरमा बास बस्न पुगेछ ।छोरा र बुबा बिच को जाने भन्ने बारे दुख पोख्दै गरेको थाहा पाई राजकुमारले यो के हो जिज्ञासा राखेछ । घरपेटीबाट सवै कुरा थाहा पाएपछि अनुमति भए त्यसको लागि आफू जाने बताए । आफनो र छोराको ज्यान जो्गिने आसमा हुन्छ भने । भोलिपल्ट बिहान राजकुमार दरवार जान निस्के । अगाडि एउटा पोखरी रहेछ । अन्जुलीमा पानी लिई खान खोज्दा एउटी कुप्री बुढीले पख पख भनि रोकेछ । पानी खानु अगि मेरो कुरा सुन भनि रोकेछ । राजकुमारले पनि पानी खान छोडी बुढीको कुरा सुन्न बसेछ । बुढीले एउटा खड्ग दिई आज तिमी दरवारमा गई राकुमारीसित बिबाह गर्न जाउँँ । बरु मैले भने जस्तै गर्नु भनेछ ।
राजकुमारीसित बिबाह पछि राती बुढीले भनेजस्तै राजकुमार नसुति खड्ग हातमा लिई बसेछ । मध्यरातमा मस्त सुतेकी राजकुमारीको नाकबाट शुरुमा रौं जस्तो दुईटा नाग निस्केछ । पछि बिस्तारै बढ्दै अजगको अजिंगर भएछ । र राजकुमारलाई टोक्न अगाडि आउन लागेपछि बुढीले दिएको त्यहि खड्गले दुईटुक्रा हुने गरि काटेछ । भोलिपल्ट बिहान सधैं झै मुर्दागुठीका मानिसहरु लाश राख्ने खट सहित दरवार अगाडि जम्मा भएछ । राजकुमारको लाश लिन खोपीभित्र गुठीयारहरु पुग्दा उनी जिवितै पाउँदा अच्चम भएछ ।
यो कुरा राजा कहाँ जाहेर भएछ । राजा पनि अति खुशी भएछ । उनै राजकुमारलाई यो देशको राजा बनाएछ । अनि यहाँका सवै राजकुमार तथा अन्य पूरुषहरुलाई डसेर मार्ने अजंगको नागनागिनीलाई सवैको अगाडि देखाउने उदेश्यले लामो काठमाथि बाँधेर प्रर्दशन गरियो । यो नै कालान्तरमा योसीं जात्रा बन्नपुग्यो । यसमा झुण्डयाउने एक जोडा हलिंपत नै उक्त नागनागिनी हो भन्ने कथन छ ।
दोश्रो लोककथा
भक्तपुरका राजा शिवदेवको समयमा एकपल्ट पूर्वतीरबाट किराँतीहरुले आक्रमण गर्न आएछ । ठूलो फौज लिई आक्रमण गर्न आएका किँरातीहरुको अगाडि यहाँका सिमीत फौजको केही लागेन । राजा सारै आकुलब्याकुल हुन पुगेछ । राजाको यो चिन्ताबाट देवी बज्रयोगिनीले सपनामा आई तिम्रो राजगुरुसित सल्लाह गर्नु भनि आज्ञा भएछ । सपनामा भएको घटनाआफनो गुरु शेखर आचाजुलाई सुनाएछ ।शेखर आचाजुले राजालाई भरोसा दिदैं एक मुठी चामल दिइ मैले शत्रुलाई लखेटी सकेपछि यो चामलले हिर्काउनु भनि आफू अजंगको डरलाग्दो बाघ बनेछ र अरु पनि असंख्य बाघको समूह बनाई किँराती फौज माथि आक्रमण गर्न पुगेछ ।
किँरातीहरु आफूले बोकी आएको हातहतियार समेत छोडी ज्यान जोगाई भागेछ । शत्रुलाई लखेटी फर्केको बाघलाई राजाले मन्त्रसहितको आचाजुले दिएको चामल अक्षताले हिर्काए पछि बाघ त शेखर आचाजु नै भएछ । यो कुरा एक कान दुई कान मैदान हुदैं शेखर आचाजुको पत्नी नररुपाको कानमा पनि पुगेछ । आफनो लोग्नेको यस्तो शक्तिको आफूले पनि एकपटक परिक्षण गर्ने सोच आएछ । एकदिन शेखर आचाजुलाई भयकंर अजिंगर बन्न आग्रह गरेछ । अनावश्यक रुपमा शक्तिको दुरुपयोग नगर्न श्रीमतिलाई भनेछ ।
तर श्रीमतिले शेखर आचाजुको कुरानै सुनेन । बरु हठ गर्न छोडेनन । अन्तत शेखर आचाजु बाध्य भएर श्रीमतिले भन्ने झै अजंगको अजिगंर बन्ने भयो । यसको लागि मन्त्र गरेको एक मुठी अक्षता श्रीमतिको हातमा दिई आफूलाई अजिंगर हेर्न पुगेपछि उक्त अक्षताले हिर्काए आफू पुन मान्छे नै हुने बताई सिध्द पोखरी भित्र पसेछ । एकै क्षणमा पोखरीमा भयंकर अजिंगर देखे पछि नररुपा यति डराउन पुगेछ की अजिंगर देखि डरले भाग्न थालेछ । यता अजिंगर चाहीं नररुपाले अक्षताले हिर्काउला , आफू पुन मान्छे बनुँला भन्ने आसले नररुपाको पछि पछि लागेछ । नररुपा चाहीं आफूलाई नै तोक्न आयो भनि हातको अक्षता भुँईमै फाली माइत ठिमीतीर भागेछ ।
भाग्दै गरेको नररुपालाई अजिंगरले छोएपछि उनी पनि अजिंगरनी भएछ । अजिंगर अजिंगरनी भएका शेखर आचाजु र नररुपा कसैले आफनो वास्तबिकता थाहा पाई उध्दार गरि देला की भनी यताउता भौतारिरहयो । तर कसैले उनीहरुको वास्तबिकता थाहा पाउन सकेन । राजाको दरवार पछाडि आई आत्महत्या गरि दुवै नाग नागीनी मरेछ । एकपटक देशमा ठूलो अनिकाल परेछ । त्यसको निवारण गर्न राजाले फेरि एकपटक आफनो गुरु शेखर आचाजुलाई सम्झेछ । शेखर आचाजुको घरमा खोज्न पठाउँदा घरमा भोटे ताल्चा लगाएको पाएछ । यताउता खोजे पनि कतै पाएन । अन्तत ज्योतिष कहाँ पुगेछ ।
ज्योतिषले राजाको दरवार पछाडि नागनागिनी भई मरिरहेको र पुर्व घटना सवै बताएछ । नभन्दै दरवार पछि हेर्दा नागनागिनी भई मरिरहेको पाएछ । राजाले शेखर आचाजुले देशको लागि पुयाएको योगदान सम्झि हरेक वर्ष चैत्रमहिनाको अन्तिम दिन लामो काठमा भुण्डयाई सवैले देख्ने गरि जात्रा चलायो ।
तेश्रो लोककथा
एक समयमा भक्तपुरको प्रसिद्व सिद्ध पोखरीमा पानी सुक्न गई पोखरी जिर्ण अवस्थामा पुगेछ । राजाले विध्दानहरुको सल्लाह बमोजिम सूर्यविनायकको जंगल देखि कुलो खनी पोखरीमा धेरै दिन सम्म पानी भर्न लगाउँदा पनि सिध्द पोखरीमा पानी भएन । राजाले अनेकन उपाय तथा पुजाआजा गर्दा पनि पानी भरिएन । यसबाट राजा अत्यन्त चिन्तामा रहन थाले । यसैबेला एकजना हरिदत्त र पत्ता नाम गरेको दम्पति यसै नगरमा बस्थ्ये । राती सुतिरहेको समयमा श्रीमतिले हरिदत्तसित सिध्द पोखरीमाम पानी किन नभरिएको होला भनि प्रश्न गरेछ ।
यसको जवाफमा हरिदत्तले हामी दुई जनालाई सिध्द पोखरीमा बलि चढाए पानी अड्ने बताए । यो कुरा सँगै घरका मान्छेले सुनेछ । भोलिपल्ट सो को जाहेर राजा कहाँ गर्न पुग्यो । राजाले हरिदत्तलाई बोलाउन पठायो । तर हरिदत्त गएनन । अन्तमा राजा स्वय उनको घरमा आई सिध्द पोखरीमा पानी रहने काईदा के होला भनि सोधे। यसको जवाफमा हरिदत्तले आफूहरु दुईजानलाई नरबलि दिए पानी रहने , आफूहरु नरबलि चढ्न पनि तयार छु ।तर आफूहरु निसन्तान भएकोले आफूहरुको मृत्यु पछि सवै सद्गति राज्यले गर्नुपर्ने बताएछ ।
राजाले पनि यसको बचन दिए पछि दुवै जना सिध्द पोखरीमा नरबलि चढी संसारबाट बिदा भए । केही समय राज्यले उनीहरुको काजक्रिया गरिदिए । केही वर्ष सद्गतिका कार्य पछि उनीहरुलाई राज्यले सम्झन सकेनन । उनीहरु दुवै प्रेतभई सिध्दपोखरीमा आउनेहरुलाई दुख दिन थाले । एकदिन एकजना राजकुमार घुम्दै यहि सिध्दपोखरीनेर आईपुगेछ ।
प्यास लागेकाले पानी खान खोज्दा प्रेत रुपी हरिदत्त र पता नागनागिनी भई राजकुमार माथि जाई लागेछ । राजकुमारले खड्गले नागनागिनीलाई काटेछ आफूले काटेको प्रेतरुपी नागनागिनीलाई सवैले देख्ने गरि एउटा अग्लो रुखमा झुण्डाई प्रर्दशन गरेछ । प्रेतरुपी हरिदत्तको हरि र पतामयजुको पता बाट उक्त नागनागिनीलाई हरिपता भन्न थालेछ । पछि हरिंपत कहलिन पुगेछ ।
चौथो लोककथा
आदि काल देखि नेपाल एक प्रख्यात धार्मिक देश रहदैं आएको देश हो । एकपटक स्वर्गका राजा इन्द्र एउटा झण्डा लिई नेपाल भूमिमा फहराउन आएछ । यसलाई देवताको झण्डा अर्थात हरिको झण्डा मासनन थाल्यो । यसको केही समय पछि देवताहरुले अर्को एउटा झण्डा जसलाई पत्वा भनिन्छ । नेपाल भूमिमा गाढेछ । पछि यो दुवै झण्डालाई संयुक्त रुपमा हरिपत्वा भन्न थालेछ । यो दुवै झण्डालाई एउटै पारेको दिन मेष संकान्तिको दिन थियो । यी दिनको सम्झनामा हरेक वर्ष मेष संकान्तिको अघिल्लो दिन एकजोडा झण्डा फहराउने र संकासन्तको दिन ढाल्ने परम्परा रहयो । यो इन्द्रको झण्डा भएकोले जुन दिशातिर ध्वजा धल्किन्छ, त्यसदिशामा वर्षा हुने र रोपाँँइ चाँडै सकिन्छ भन्ने मान्यता छ ।
जात्रा मनाउने तरिका तथा तिथीमिती:
चैत्र शुक्ल मसान्तको चार दिन अगाडि भक्तपुर तौमढी टोल स्थित आकाश भैरवलाई तीनतल्ले भव्य रथमा विराजमान गराई जात्रा गरिन्छ । जसलाई द्यः क्वाहाँ विज्याकेगु (देवता तल सवारी हुने) जात्रा भनिन्छ । जहाँ भैरवनाथको साथमा दुईतल्ले अर्काे भव्य रथमा भद्रकाली राखी जात्रा गरेको हुन्छ । त्यसको भोलिपल्टको दिन शुन्य भनि आराम लिन्छ । त्यसको पछिल्लो दिनलाई स्याक्को टयाक्को कहलिन्छ । जुन दिन भैरवनाथ, भद्रकाली, बेताल, लगायत अष्टमातृका देवी स्थानमा बोका, कुुखुराको प्रशस्त बलि दिन्छ ।
चैत्र शुक्ल मसान्तको दिन भक्तपुरको योसीं खेल र तालाक्वमा योसीं उठाईन्छ । बैशाख १ गते योसीं खेलको योसीं ढाल्ने र भैरव भद्रकालीको रथ जुढाउने जात्रा हुन्छ । त्यसपछि क्रमशः अन्य ठाउँमा अन्य ठाउँमा पनि रथ वा खट जुढाउने जात्रा हुन्छ । जसमा बाराहीको टिप्वाजात्रा, इन्द्रजात्राको त्वारिवाः जात्रा, दुमाजुको कोलुक्यात जात्रा, ब्रम्हायणी माहेश्वरीको खः जात्रा, महाकाली महालक्ष्मीको खःजात्रा, जेठागणेश र बुल्चा भैरवको खःजात्रा, इनरे गणेश (सूर्यविनायक गणेश)को खःजात्रा आदि गरि भक्तपुर भरि र भक्तपुर बाहिर थिमी, बोडे, नगदेश, टोखा, सुनाकोठी, साँगा, धुलिखेल, चौकोट, श्रीखण्डपुर जस्ता ठाउँहरुमा समेत कतै योसीं उठाइन्छ, कतै स्थानिय देवदेवीहरुको जात्रा हुन्छ ।
त्यसमा पनि भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवीहरु, गणेश, भैरव, कुमारी आदि देवदेवीहरुको जात्राले नगर शोभायमान हुन्छ । स्थानिय जात्राका रुपमा चर्चित यी सबै अन्य जात्राहरुको आआप्mनै महत्व अनि विशेषता समेत छ । जुन यहाँको मुख्य जात्रा भनिएको योसीं जात्रा अथवा विश्वकेतु जात्रासँग सम्बन्धित हुन्छ । जस्तो योसीं उठाउनु पूर्व भैरव भद्रकालीको रथ योसीं खेल पु¥याउनु पर्छ । तलेजु भित्र दुमाजुको जात्रा सम्पन्न गर्नुपर्छ ।
खौमास्थित इन्द्रायणीको त्वारिवा जात्रा सम्पन्न हुनुपर्छ र तलेजुको खड्गको उपस्थितिमा योसीं उठाईन्छ । योसीं उठी सकेपछि मात्र बाराहीको टिप्वा जात्रा हुन्छ । बैशाख १ गते योसीं ढाली सके पछि भैरव भद्रकालीको रथ गःहिटी पु¥याई एक आपसमा जुढाइन्छ । त्यसपछि अन्य ठाउँको देवदेवीको खट वा रथ जुधाउने जात्रा हुन्छ । बैशाख २ गते थिमी बोडे नगदेश ठिमीको ३२ खटको जात्रा हुन्छ । यता सोही दिन साँझ भक्तपुरको भोलाछे टोल वरपर महाकाली महालक्ष्मीको जात्रा हुन्छ ।
बैशाख ३ गते नगरको पुर्वी भेगमा ब्रम्हायणी माहेश्वरीको जात्रा हुन्छ । त्यस्तै बोलाछेंमा बुल्चा भैरव र जेठा गणेश तथा सूर्यविनायक गणेशको जात्रा हुन्छ । बैशाख ४ गते नगरभरिका गणेश, अष्टमातृका, भैरव लगायतको द्यः स्वंगबियेगु गरिन्छ र साँझतिर चोछेंको छुम्हः गणेशको जात्रा हुन्छ । बैशाख ५ गते विहान तालाक्व टोलमा ल्हाःमरु योसीं ढाल्ने जात्रा सम्पन्न हुन्छ र साँझतिर गःहिटीबाट भैरव भद्रकालीको रथ तानी टौमढी पुर्याएपछि एक बर्षको विस्का जात्रा सम्पन्न हुन्छ ।
चैत्र शुक्ल मसान्त चार दिन अगाडि देखि वैशाख ५ गतेसम्म आठरात नौ दिन सम्म बिस्का जात्रा भब्य रुपले मनाउने चलन छ । यहाँ मनाउने प्राय संस्कृति एवम संस्कारहरु चन्द्रमाको गतिलाई आधार बनाई चल्दै आएको भएतापनि बिस्का जात्रा सुर्यको गतिलाई आधार बनाई चल्दै आएको छ । तसर्थ प्रत्येक वर्ष यो जात्रा चैत्रको २७ वा २८ गते शुरु भई बैशाख ५ गते सम्पन्न हुन्छ ।
ऐतिहासिकता:
त्यसो त यो जात्रा कसले कहिले प्रचलनमा ल्याएको हो त्यसबारे भरपर्दाे प्रमाण अगाडी आइसकेको छैन । तर एउटा कुरा के स्पष्ट छ भने परापूर्व कालमा यो जात्रा दुई दिन मात्र मनाउँँथ्यो । चैत्र शुक्ल मसान्तको दिन विश्वकेतु सहित योसीं उठाउने जात्रा हुन्थ्यो भने बैशाख सक्रान्तिको दिन उक्त योसीं ढाल्ने नै विश्वकेतु जात्रा हो ने.स. ५०० को एउटा अमर कोषमा विश्वकेतु शब्दको पर्याय विसिक दिइएको छ । यस जात्राको नाम उल्लेख भएको सबैभन्दा पुरानो अनि भरपर्दो प्रमाण भनेको यक्ष मल्लको टौमढीको ने. सं. ५६१ को शिलापत्र हो ।
जसमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर शहरमा वर्षभरि मनाउने विभिन्न जात्रा चाडपर्व संस्कृतिको उल्लेख गर्ने क्रममा ‘विश्वजात्रा’ को उल्लेख भएको छ । यहाँ विश्वजात्रा भनि विस्केट जात्रालार्ई इंगित गरेको छ । यक्ष मल्लले के कति कारणले विश्व जात्रा भनिएको हो, त्यसबारे अलि गहन अध्ययन गर्नु आवश्यक छ । वास्तवमा बिस्का जात्राको मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन योसीं द्यः(लिगों) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सक्रान्तिको दिन उक्त योसीं ढाल्नु हो ।
जुन प्रागऐतिहासिक कालमै प्रचलनमा आईसकेको मानिन्छ ।विशेष गरि किँरातीहरुलाई पराजित गर्न सफल भएका लिच्छवीहरुले मनाएको जात्रा हो । लिच्छवी वंशको लामो इतिहासमा प्राचीन भक्तपुर नगरको पतन पछि मध्यकालमा लिच्छवी राजा आनन्द देवले स्थापना गरेको भक्तपुर बिशाल नेपाल मण्डलकै राजधानी थियो । जुन यक्ष मल्लसम्म निरन्तर रहयो । यस अवधिको करिव ३६७ बर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी भएको नाताले राजनैतिक प्रशासनिक एवम सामरिक दृष्टिकोणले मात्र नभई धार्मिक सांस्कृतिक कारणले समेत महत्वपूर्ण केन्द्र हुन पुग्यो ।
बर्षभरि जसो यहाँ मनाइने जात्रा, चाडपर्व, संस्कृतिको उल्लेख गरेको ने.सं.५६१ को टौमढीको शिलापत्र यसको ज्वलन्त उदाहरण हो ।त्यस्तै ने.सं.६४१को भूमिसम्वन्धि तमसुक ताडपत्रमा “विसक जात्रा” उल्लेख छ । ने.सं. ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको नें .संं. ९१८ मा लेखिएको ठ्यासफुमा समेत ठाँउ ठाँउमा विश्वजात्रा नै भनिएको देखिन्छ ।यता ने.सं. ८०८ को राजा जितामित्र मल्लको अभिलेखमा “विसक्यात” उल्लेख छ । त्यस्तै भतmपुरका अर्का राजा भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि उही विसक्यात परेको छ ।
त्यतिबेला भक्तपुर नगरको वरपर प्रशस्त जंगलहरु रहेको हुँदा सवैतिरबाट जात्रा हेर्न सकियोस् भन्ने हेतुले एउटा बडेमाको काठको लिगों उठाउने गर्थे ।जसमा पछि एक जोडा ध्वजा थपियो । यसरी दुई दिन मात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीको समेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर विकास भयो । अझ भक्तपुरका राजा राय मल्लको समयमा भक्तपुर अधिनस्थ कयौं राज्य स्वतन्त्र हुदै भक्तपुरको भू–भाग सानो हुदै गएकोलाई उनका छोरा भुवनमल्लले आफ्नो अधिकार भएको टोखा, सुनाकोठी, थिमी, नगदेश, बोडे, साँगा, श्रीखण्डपुर चौकोट जस्ता ठाउँहरुमा समेत विस्का मनाउने चलन बनाए ।
यता भक्तपुरको विस्का जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउने देखि अन्य देवदेवीहरुको समेत जात्रा पुजापर्व गर्ने परम्परा बसाउनमा भक्तपुरका विश्वमल्ल, गंगारानी, जर्गज्योति मल्ल, जगतप्रकाश मल्ल,जितामित्र मल्ल, भुपतिन्द्र मल्लको ठुलो योगदान छ ।जसबाट मल्लकालको अन्तसम्म आईपुग्दा विस्का जात्रा उपत्यकाकै भव्य रमणीय जात्रा हुनपुग्यो ।
यसै क्रममा प्रत्येक बर्ष चैत्र शुक्ल मसान्तको चार दिन अगावैबाट भक्तपुरमा मनाइने विस्का जात्रा नेपालकै प्रसिद्ध जात्रा बनेको छ । चैत्र शुक्ल मसान्तको चार दिन अगाडी देखि बैशाख ५ गते सम्म मनाइने यो जात्रा सूर्यको गतिलाई आधार बनाएर मनाएको आफैमा महत्वपूर्ण छ ।मातृसत्तात्मक समाज भन्दा पितृसत्तात्मक समाज अनि चन्द्रमाको गति भन्दा सूर्यको गतिलाई लिच्छवीहरुले प्राथमिकता दिएको सन्र्दभ यहाँ उल्लेख गर्नु मनासिव हुनआउँछ ।
लेखक ओम प्रसाद धौभडेल युवा संस्कृतिविद तथा इतिहासविद हुन् ।
Published Date: 09 April 2023ओम धौभडेल
-
ओम धौभडेल#molongui-disabled-link
-
ओम धौभडेल#molongui-disabled-link
-
ओम धौभडेल#molongui-disabled-link