प्रतिनिधिसभाको बैठक बस्दै, रायमाझीको पद निलम्बन भएको जानकारी गराइँदै

प्रतिनिधिसभाको बैठक बस्दै, रायमाझीको पद निलम्बन भएको जानकारी गराइँदै : Icon Khabar

काठमाडौं, साउन १५ । प्रतिनिधिसभा बैठक आज (सोमबार) दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्दै छ । १०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार संसद बैठकमा अवरोध गरेको थियो ।

बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए । तर, सभामुखले शून्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आज बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने छन् । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी हाल पूर्पक्षका लागि थुनामा रहेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएको अभियोगमा हाल एमालेबाट निर्वाचित सांसद रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका व्यक्तिहरु हाल पूर्पक्षका लागि थुनामा छन् । यस्तै आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 July 2023
Website | + posts