एक महिना लामो मत्स्यनारायण मेला (फोटो फिचर)

एक महिना लामो मत्स्यनारायण मेला (फोटो फिचर) : Icon Khabar

काठमाडौं, साउन १३ । मत्स्यनारायाण मेला काठमाडौं जिल्लामा कीर्तिपुरको नजीकै रहेको मच्छेगाउँमा लाग्छ । मच्छेनारायणमा प्रत्येक पुरुषोत्तममास वा मलमासमा प्रत्येक तीन वर्षमा एक पटक एक महिना लामो मेला लाग्ने गर्छ । पुरुषोत्तममास अर्थात् मलमासमा अरु कुनै शुभकार्य तथा देवकार्य गर्ने गरिँदैन । भगवानको देवकार्य नहुने समयमा मच्छेनारायण मन्दिरमा भने एक महिने मेला लाग्ने हुँदा पनि यसको धेरै ठूलो महत्त्व रहेको छ । मेलामा काँसको थालमा मालपुवा हालेर दान गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ ।

मेला व्यवस्थापनका लागि स्थानीय बासिन्दाको पहलमा मूल व्यवस्थापन समिति गठन भएको छ । समितिले बस स्टपदेखि मन्दिरसम्म जाने गोरेटो बाटो निर्माण गरेको छ । मन्दिरको दुवैतर्फ बस पार्किङको व्यवस्था मिलाईएको छ ।

पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दस अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ । पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपालवंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छविकालमा निर्माण भएको विश्वास गरिन्छ ।

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गदा र पद्म लिएको मूर्ति छ ।

विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुन्द्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् ।

मन्दिर घण्टा आकारको पौराणिक तथा कलात्मक शिखर शैलीमा बनेको छ । मन्दिर वरिपरि १४ वटा कलात्मक धारा छन् । धाराको पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रूपका मूर्ति छन् । मन्दिर अगाडि शिलामा स्तुतिसहित गरुड हनुमान र दुवै छेउमा शिवको लिङ्ग छ ।

Published Date: 29 July 2023
ताजा
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
पहाडी र हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक