फोहोरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिन नहुने

फोहोरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिन नहुने : Icon Khabar

भक्तपुर, साउन ७ । सहरी विकास मन्त्री सीता गुरुङको अध्यक्षतामा उपत्यकाका नगर प्रमुखहरुको उपस्थितिमा ‘फोहोरमैला व्यवस्थापन कार्ययोजना २०८०’ को मस्यौदामाथि छलफल कार्यक्रम आइतबार सम्पन्न भयो ।

छलफलमा मन्त्री गुरुङले फोहोरमैला व्यवस्थापन कुनै एउटा पालिका वा उपत्यकाको मात्रै समस्या नभई देशभरकै पालिकाहरुको साझा समस्या भएको बताए ।

फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न सम्बन्धित सरोकारवालाहरुसँग निरन्तर छलफलमा रहने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री गुरुङले सहरी विकास मन्त्रालयले निर्माण गरेको ल्याण्डफिल साइट हस्तान्तरणमा अन्योल सिर्जना भएको र सोको लागि सहजीकरणको वातावरण सिर्जना गर्र्नु आजको आवश्यकता रहेको बताए ।

उनले फोहोर व्यवस्थापनबारे संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट नहुँदा अन्योल निम्तिएको बताउँदै प्लास्टिकजन्य सामाग्रीहरुको प्रयोगमाथि स्थानीय तहहरुले प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले फोहोरमैला व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन नहुनेतर्फ ध्यानाकृष्ट गर्दै फोहोर व्यवस्थापन एकै ठाउँमा नगरी विकेन्द्रित गर्नुपर्ने र फोहोर व्यवस्थापनको लागि स्थानीय तहलाई आवश्यक बजेट तथा उपकरणहरुको व्यवस्था गर्नुपर्ने बताए ।

भक्तपुर नगरपालिकाले फोहारलाई स्रोतबाटै कम गर्ने उद्देश्यले घरघरबाटै कुहिने र नकुहिने अलग अलग फोहोर संकलन गर्दै आइरहेको र नागरिकहरुलाई कौसी खेती, कम्पोष्ट मल बनाउने विधिबारे तालिम दिँदै आएको बताए ।

कुहिने फोहोरको कम्पोष्ट मल बनाएर किसानहरुलाई बिक्री समेत गर्दै आइरहेको जानकारी गराउँदै प्रमुख प्रजापतिले विकसित देशहरुको प्रविधि र अनुभवबाट नेपालले सिकेर वैज्ञानिक ढंगबाट फोहोरको व्यवस्थापन गर्न सकिने धारणा राखेका थिए ।

ललितपुर महानपाका प्रमुख चिरीबाबु महर्जनले फोहोर व्यवस्थापनको लागि बञ्चरेडाँडाको विकल्प संघ सरकारले व्यवस्था गर्नुपर्नेमा जोड दिँदै नेप वेस्ट कम्पनी प्रा.लि.लाई खारेज गरी नयाँ नयाँ प्रविधिहरु अवलम्बन गर्दै फोहोर व्यवस्थापन गर्न सकिने धारणा ब्यक्त गरे ।
छलफल कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्थानीय तहहरुलाई जिम्मेवार बनाई फोहोर व्यवस्थापन गरी सोको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने धारणा ब्यक्त गरे ।

कागेश्वरी मनोहरा नपाका प्रमुख उपेन्द्र कार्कीले फोहोरमैला व्यवस्थापनमा माफियाहरुको चलखेल बन्द गर्नुपर्ने बताउँदै फोहोरमैलासम्बन्धी तीन तहको काम, कर्तव्य र अधिकार स्पष्ट हुनुपर्ने बताए ।

गोकर्णेश्वर नपा प्रमुख दिपककुमार रिसालले फोहोर उत्पादन स्रोतबाट कमी गर्न जनचेतना जगाउनुपर्ने बताउँदै फोहोर व्यवस्थापनका नयाँ नयाँ प्रविधि अवलम्बन गर्नुपर्ने बताए ।

त्यस्तै चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुढानिलकण्ठ नपा प्रमुख मिठाराम अधिकारी, चाँगुनारायण नपा प्रमुख जीवन खत्री, मध्यपुर थिमी नपा प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले फोहोर मैला व्यवस्थापनको दीर्घकालीन समस्या समाधानको लागि केन्द्र सरकारबाटै पहल हुनुपर्ने र निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मा दिए सरकार असक्षम हुँदै जाने, बन्चरेडाँडा र सिसडोलको विकल्पबारे अध्ययन गर्नुपर्ने लगायतका धारणा व्यक्त गरेको थियो ।

लगानी बोर्डका महानिर्देशकले बोर्डको २३ औं बैठकले काठमाडौंलगायतका नगरपालिकाहरुको फोहोर व्यवस्थापन नेप वेष्टलाई दिएको तर त्यो सफल नभएको बताए ।

उनले काठमाडौंको फोहोर व्यवस्थापनको सम्पूर्ण सम्झौतालगायतका कागजातहरु कामनपालाई पहिले नै हस्तान्तरण गरेको जानकारी दिए ।

बैठकमा लगानी बोर्डको आलोचना भएको थियो । लगानी बोर्डले निजी क्षेत्रलाई जिम्मेवारी दिएकै कारण समस्या भएको हुँदा उक्त कम्पनीसँगको सम्झौता भंग भएको घोषणा गर्न नगर प्रमुखहरुले माग गरेको थियो ।

उक्त कार्यक्रममा आयोजना निर्देशक रविन्द्र बोहराले फोहोरमैला व्यवस्थापन कार्ययोजना मस्यौदा २०८० बारे प्रस्तुतीकरण देखाएको थियो भने मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2023
Website | + posts