नेपालको ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्र (फोटो फिचर)

नेपालको ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्र (फोटो फिचर) : Icon Khabar

काठमाडौं, साउन ५ । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहद्धारा १९६८ जेठ ९ नेपालको पहिलो र एशियाको दोस्रो जलविद्युत् आयोजना भनेर चिनिएने फर्पिङ जलविद्युत् उद्घाटन भएको थियो ।

लगभग ४ वर्ष लगाएर बनाईएको उक्त आयोजनाको त्यस समयको लागत ७ लाख भन्दा बढी परेको थियो । चन्द्रज्योती नाम राखिएको उक्त जलविद्युत् आयोजना प्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा निर्माण भएको हो ।

स्थापनाको पृष्ठभूमि हेर्दा वि.सं. १९६४ तिर राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर बेलायत भ्रमण गरेर फर्किनासाथ काठमाडैंको करिब १७ कि.मि. दक्षिणमा पर्ने फर्पिङ क्षेत्रमा स्थानीय साना तीन खोला खोल्साहरू (जस्तैः कुटली, सातमूले र शेषनारायण) को पानी जम्मा गरी-बिजुली निकाल्ने कुरा नेपाली ईन्जिनियर कर्णेल किशोर सिंह राणाले योजना बनाई लागत ईष्टिमेटसमेत तयार गरोको र उक्त योजनालाई कार्यान्वयन गर्न बेलायतको जनरल ईलेक्ट्रीक कम्पनीबाट लिन्जाले नामका अंग्रेज ईन्जिनियर झिकाइएको थियो ।

यसलाई योजना बनाई निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्न ४ वर्ष मात्र लागेको देखिन्छ । यसका मुख्य संरचनाहरूमा ५,२८,७८३ क्यूफिट पानी अट्ने २०० फिट व्यासको र १८ फिट गहिरो गोलाकार जलाशय, २५३८ फिट लामो २० इन्चको स्टील पेनस्टक पाइपमार्फत पावरहाउस रहेको २५० किलोवाट क्षमताका दुईटा पेल्टन टर्बाइनमा २८८ पिएसआई (PSI) को प्रेसर अर्थात् करिब ६८२ फिटको ग्रस हेडले हान्दा, ३ फेजको ११ हजार भोल्ट निकाल्ने गरी ६०० (RPM) सिन्क्रोनस स्पिडमा घुमाउने गरी जनरल ईलेक्ट्रिकको जेनेरेटरको जडान गरिएको थियो ।

उक्त ऐतिहासिक धरोहर र पहिलो जलविद्युतगृह वि.सं. २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि सो जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि सो विद्युतगृहको सञ्चालन बन्द हुन पुग्यो । जलस्रोत ऐनमा समेत खानेपानीलाई जलस्रोत उपयोगमा विद्युतभन्दा महत्त्वपूर्ण प्राथमिकतामा राखिएकोले पनि यसो गरिएको देखिन्छ तर पनि ऐतिहासिक विद्युतगृहलाई चालू हालतमा राख्नुपर्ने महसुस गरी आवश्यक मर्मत संभार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा बनाइएको देखिन्छ ।

 

देशभर विद्युत उत्पादन बढ्दै गएपछि र खानेपानीको वितरणले सोही स्थानबाट निरन्तरता पाएपछि हाल पनि म्युजियमको रूपमा उक्त विद्युतगृह रहिरहेको छ । २०६७ सालमा १०० वर्ष पुगेको अवसरमा उक्त विद्युतगृहमा तत्कालीन ऊर्जा मन्त्रालयको संयोजकत्वमा शतवार्षिकी महोत्सव मनाएको थियो । हाल पनि बागमती प्रदेश सरकारले शतवार्षिक स्मारक रहेको स्थानमा केही जिर्णाद्वारका कार्य गरेको छ ।

विद्युत प्राधिकरणसँग सहकार्य र समन्वय गरी त्यहाँ रहेको विद्युत प्राधिकरणका संरचना र जग्गाहरूको समेत संरक्षण हुने गरी प्रदेश वा स्थानीय सरकारले उक्त ऐतिहासिक विद्युतगृहलाई म्युजियम तथा पर्यटकीय स्थलको रूपमा विकास र प्रवर्द्धन गर्न सके यसको पुरात्वातिक महत्त्व झन् बढ्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2023
Website | + posts