पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे

पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे : Icon Khabar

जुम्ला, असार ३० । जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।

चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो ।

पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ । भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या भएको उनीहरुले बताए । किसान बोहोराले भन्ने, ‘यहीँ पेशाबाट आम्दानीको माध्यम बनेको थियो । घर खर्चदेखि बच्चाको पढाइ खर्च सहजरुपले धानेको थियो ।’

स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए । उनले भने, ‘चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ ।’ स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 July 2023
Website | + posts