बासु माध्यमिक विद्यालयकी प्राचार्य अम्बिका न्याइच्याईसँगको आइकन संवाद

बासु माध्यमिक विद्यालयकी प्राचार्य अम्बिका न्याइच्याईसँगको आइकन संवाद : Icon Khabar

भक्तपुर, असार २८ । भक्तपुर नगरपालिका वडा नं २ ब्यासी कालिघाटमा अवस्थित बासु माध्यमिक विद्यालयमा एसईई उतिर्ण विद्यार्थीहरुका लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा शास्त्र संकाय लगायत ३ बर्षे डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ र ३ बर्षे डिप्लोमा इन एग्रिकल्चर (कृषि) मा भर्ना खुलेसँगै आगामी शैक्षिक योजनाहरुका बारेमा सोहि विद्यालयका प्राचार्य अम्बिका न्याइच्याईसँग आइकन खबरले गरेको आइकन संवाद यहाँ प्रस्तुत छ।

१. सर्वप्रथम बासु माध्यमिक विद्यालयको बारेमा जानकारी दिनुहोस।

बासु मा.वि. वि.सं. २०१९ सालमा स्थापना भएको प्रतिस्थित विद्यालय हो । यस विद्यालयको स्थापना वडाका वडाबासी, बुद्धिजीवी, समाजसेवी, किसान, मजदुरहरुको अथक प्रयास, श्रमदान, मुठ्ठीदानबाट सम्भव भएको हो । यहाँ प्ले ग्रुप (Play Group) देखि ११/१२ र CTEVT बाट सम्बन्धन प्राप्त दुईवटा कार्यक्रमहरु डिप्लोमा तह कम्प्युटर ईन्जिनियरिङ (Diploma in Computer Engineering) र डिप्लोमा तह कृषि (बाली विज्ञान) (Diploma in Agriculture (Plant Science)) सञ्चालन भइरहेका छन् । स्नातक तहमा व्यवस्थापन संकायतर्फ Bachelor in Business Studies (BBS) सञ्चालन भइरहेको छ । यो विद्यालय सुरुमा सानो व्यासीस्थित पुरानो आफ्नै भवनमा सञ्चालित थियो भने हाल ब्यासी कालिघाटस्थित नयाँ भवनमा सञ्चालित छ ।

२. यस विद्यालयले विद्यार्थीहरुको पठन पाठन अनि सर्वाङ्गिण विकासका लागि के कस्ता क्रियाकलापहरु गर्दै आएको छ ?

विद्यालयमा विद्यार्थीहरुलाई पढाईमा मात्र केन्द्रित गरेर विद्याथीहरुको सर्वाङ्गिण विकास हुन्छ भन्नेमा विश्वास गर्दैन । अतिरिक्त क्रियाकलाप, स्वास्थ्य शिविर, सरसफाइ, शैक्षिक भ्रमण, अध्ययन भ्रमण, हाइकिङ, अन्तरक्रिया, परामर्श कार्यक्रम, खेलकूद, नृत्य प्रशिक्षण, चित्रकला प्रशिक्षण, स्काउट आदि कार्यक्रमहरुमार्फत् विद्यार्थीहरुको चौतर्फी विकास गर्न निरन्तर प्रयासमा छौं । बदलिँदो समयानुकुल समय सान्दर्भिक प्राविधिक शिक्षा र तालिमलाई पनि प्राथमिकतामा राख्ने गरेका छौं ।

३. कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा शास्त्र संकाय लगायत ३ बर्षे डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ र ३ बर्षे डिप्लोमा इन एग्रिकल्चर (कृषि) मा भर्ना खुलेको छ । यस सम्बन्धि विद्यार्थी अनि अभिभावकको लागि विद्यालयको सन्देश के रहेको छ ?

सर्वप्रथम एसईई प्रवेशिका परीक्षा – २०७९ मा उतीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बासु माविको तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौं । बासु माविमा कक्षा ११ मा अहिले प्रवेश परीक्षा र भर्नाको कार्यक्रम सुरु भएको छ । यस विद्यालयमा कक्षा ११ मा विज्ञान (Science), व्यवस्थापन (Management), मानविकी (Humanities) र शिक्षा शास्त्र (Education) का विषयहरु पढाइ भइरहेको छ ।

विद्यार्थीहरुले कक्षा ११ मा कम्प्युटर विज्ञान (Computer Science), होटेल व्यवस्थापन (Hotel Management), आम सञ्चार र पत्रकारिता (Mass Communication & Journalism), कानुन (General Law), ग्रामीण विकास (Rural Development), गणित (Mathematics), भ्रमण र पर्यटन (Travel & Tourism), वास्तुकला (Sculpture), चित्रकला (Painting), समाजशास्त्र (Sociology), वित्तिय शास्त्र (Business Studies), जनसंख्या (Population) जस्ता विषयहरु पढ्न पाउँछन् । गरिब, जेहेन्दार र एसईई परीक्षामा राम्रो जीपिए हासिल गर्ने विद्यार्थीहरुलाई भर्ना शुल्क, १२ महिनाको मासिक शुल्क छुटदेखि अन्य छात्रवृत्तिहरु पनि दिइरहेका छौं ।

त्यसैगरी सिटीईभिटीबाट सम्बन्धन प्राप्त ३ वर्षे डिप्लोमा तहका कम्प्युटर ईन्जिनियरिङ र कृषि (बाली विज्ञान) पनि पढाइ भइरहेको छ । डिप्लोमा तहका पठनपाठन हामीले अत्यन्तै न्यून शुल्कमा गराइरहेका छौं र काठमाडौं उपत्यकामा डिप्लोमा कृषि (बाली विज्ञान) कार्यक्रम सञ्चालन गर्ने बासु मावि पहिलो विद्यालय हो । डिप्लोमा तहमा कम्प्युटर ईन्जिनियरिङतर्फ ४८ जनाको कोटा र कृषि कार्यक्रममा ४० जनाको कोटा रहेको छ । प्रत्येक कार्यक्रममा हामीले न्यूनतम ४ देखि ५ जनालाई छात्रवृत्ति कोटामा अध्ययन गराइरहेका छौं ।

४. यी विभिन्न संकायहरुको स्कोप विद्यार्थीका लागि कस्तो छ ?

समाजलाई शिक्षित बनाउनु र सेवा गर्नु नै एक अर्थमा हरेक विषयको स्कोप हो । शिक्षाले ज्ञानरुपी आँखा खोल्ने काम गर्छ । भनिन्छ – “विरुवाको पातमा पानी दिनुभन्दा जरामा पानी दिएमा विरुवा सप्रिन्छ ।” चेतनाको विकास गर्न औपचारिक र अनौपचारिक शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

कक्षा ११/१२ पढ्नु भनेको भविष्यमा उच्च शिक्षा हासिल गर्नको निम्ति बाटो खोल्नु हो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको देशको निम्ति आवश्यक मानव संशाधन (Human Resource) तयार हुनु हो । उच्च शिक्षा हासिल गरेपछि कम्प्युटर वा सूचना प्रविधि विज्ञ, शिक्षक सेवा आयोग, लोकसेवा आयोग, सामाजिक अभियन्ता, सुरक्षा सेवा, लेखक, इन्जिनियर, विशेषज्ञ, कृषि विज्ञ भई देशको सेवा गर्न सकिन्छ ।

५. कक्षा ११ का लागि के कस्ता योजनाहरु बनाउनु भएको छ ?

कक्षा ११ मा नयाँ विद्यार्थी भर्नाको निम्ति धमाधम फारम वितरणको काम भइरहेको छ । विज्ञान मानविकी, व्यवस्थापन र शिक्षा शास्त्रका विषयहरु अध्ययनको निम्ति फारम भर्ने विद्यार्थीहरुको चहलपहल बढेको छ । त्यसको निम्ति विभिन्न सञ्चार माध्यमहरुबाट प्रचार प्रसारका कार्यहरु पनि गरिरहेका छौं । हामीले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उनीहरुले एसईईमा प्राप्त गरेको जिपीएको आधारमा भर्ना शुल्क, १२ महिनाकै मासिक शुल्कमा छात्रवृत्ति र छुट दिने बन्दोबस्त गरेका छौं । भक्तपुर नगरपालिकाबाट कक्षा ११/१२ पढ्ने विद्यार्थीहरुलाई दिइने छात्रवृत्तिमा पनि पढ्ने व्यवस्था गरेका छौं ।

डिप्लोमा तहका कार्यक्रमहरुमा पनि विशेष छुट र छात्रवृत्तिको व्यवस्था गरेका छौं । हरेक सेमेष्टर परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सेमेष्टरको सम्पूर्ण मासिक शुल्क छुट दिने व्यवस्था गरेका छौं । त्यसैगरी सिटिइभिटीबाट छात्रवृत्ति परीक्षा उतीर्ण गर्ने ४ जना विद्यार्थीहरुलाई छात्रवृत्तिमा पढाइरहेका छौं ।

६. यहि विद्यालयमा अध्ययन गरि धेरै विद्यार्थीहरु अहिले विभिन्न क्षेत्रमा विभिन्न पदमा सेवारत पनि छन् होला। बासु मा वि मार्फत अध्ययन पूरा गरि हाल विद्यार्थीहरु कहाँ कहाँ ब्यस्त छन् ? तपाइलाई जानकारी छ ?

बासु माविले वि.सं. २०४५ सालदेखि नै प्रवेशिका परीक्षामा विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको छ । त्यसबेलादेखिका हरेक वर्ष बासु माविबाट उतीर्ण भएका विद्यार्थीहरु देशविदेशका विभिन्न क्षेत्रमा इमान्दारीपूर्वक काम गरिरहेका छन् । यस विद्यालयबाट उतीर्ण विभिन्न विद्यार्थीहरु चिकित्सा क्षेत्रका विज्ञ, इन्जिनियर, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी, जनप्रतिनिधि, समाजसेवी भएर देशको सेवा गरिरहेका छन् ।

७. यी विभिन्न संकाय अध्ययनका लागि विद्यार्थीले बासु माध्यमिक विद्यालय नै किन छान्न आवश्यक छ ? जानकारी दिनुस न।

बासु माविले स्थापनाकालदेखि नै स्थानीय जनताको बीचमा रही विज्ञान प्रविधिमैत्री र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । हामीले विद्यालयमा खुला एवं स्वच्छ शैक्षिक वातावरणमा विद्यार्थीहरुलाई पठन पाठन गराउँदै आएका छौं । दिगो सिकाइ र पठनपाठनको निम्ति तालिम प्राप्त, उच्च शिक्षा हासिल गरेका योग्य र दक्ष शिक्षकहरुमार्फत् अध्यापन गराउँदै आएका छौं ।

सैद्धान्तिक शिक्षा संगसंगै प्रभावकारी प्रयोगात्मक शिक्षाको निम्ति विभिन्न प्रयोगशालाहरुको बन्दोबस्त गरेका छौं । बासु माविमा भौतिक विज्ञान (Physics Lab), रसायन विज्ञान (Chemistry Lab), जीव विज्ञान (Biology Lab), कम्प्युटर विज्ञान (Computer Lab), गणित विज्ञान (Math Lab)का सुविधायुक्त प्रयोगशालाहरुको व्यवस्था गरेका छौं । त्यसै गरी माटो परीक्षण प्रयोगशाला (Soil Test Lab), इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन प्रयोगशाला (Electronics & Communication Lab), वर्कशप (Workshop), ईन्जिनियरिङ ड्रोइङ कक्ष (Engineering Drawing Room), प्लान्ट प्याथोलोजी ल्याब (Plant Pathology Lab) जस्ता विशेष प्रयोगशालाहरुको पनि व्यवस्था छ ।

विद्यार्थीहरुलाई सुविधायुक्त पुस्तकालय (Library) र इन्टरनेट सेवाको पनि व्यवस्था गरिएको छ । विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखी विद्यालय परिसरमै चमेना गृह (Canteen)को साथसाथै विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत नर्सको पनि व्यवस्था गरिएको छ ।

विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति समय समयमा शैक्षिक भ्रमण अवलोकन, खेलकूद प्रतियोगिता, गोष्ठी, अन्तरक्रिया, रक्तदान कार्यक्रम, होटेल भिजिट, पैदलयात्रा, बनभोजजस्ता अतिरिक्त क्रियाकलापहरुको पनि आयोजना गर्दै आएका छौं । विद्यालयले दिँदै आएको यी र यस्ता सुविधाहरुको उपयोगको निम्ति आफ्ना नानीबाबुहरुलाई यस विद्यालयमा भर्ना गरिदिनुहुन अभिभावकहरुमा अनुरोध गर्न चाहन्छौं ।

८. अन्तिममा तपाईका अभिभावक अनि विद्यार्थी साथै शुभचिन्तकहरु प्रति सन्देश के रहेको छ ?

भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउनमा भक्तपुरका सम्पूर्ण शिक्षाप्रेमी, समाजसेवी, देशभक्त जनताहरुको हात रहेको छ । यसै अभियानमा बासु माविले पनि शैक्षिक गुणस्तरमा अब्बल, प्रतिस्पर्धी र असल नागरिक तयार गरी साथ दिइरहेका छौं । अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय समुदायको साथ र सहयोगले नै बासु माविलाई भक्तपुरको एक अब्बल दर्जाको विद्यालयको परिचय बनाउन सकेको हो ।

विद्यालयको विकासको निम्ति सम्पूर्ण सहयोगी महानुभावहरुबाट रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौं । बासु माविमा सञ्चालित कक्षा ११ र डिप्लोमा तहका कार्यक्रमहरुमा आबद्ध भई सहयोग गर्नुहुनेछ भन्ने आशा अनि भरोसा पनि लिएका छौं । विद्यालयबारे जानकारी दिने अवसर दिनुभएकोमा आइकन खबर परिवारलाई पनि आभार व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 July 2023
Website | + posts