वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी छ: अर्थमन्त्री महत

वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी छ: अर्थमन्त्री महत : Icon Khabar

काठमाडौँ, असार २६ । अर्थमन्त्री प्रकाशशरण महतले वित्तीय संघसंस्थाले सुविधा पाएनौं मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने बताएका छन्।

मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा महतले भने, ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्था लाग्यो भने यसले सकरात्मक नतिजा दिन्छ।’

वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनैपर्नेमा मन्त्री डा. महतको जोड थियो। उनले भने, ‘ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ। वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी छ। २०४६ सालपछि वित्तीय क्षेत्र व्यापक रुपमा विस्तार भएको हो। बैंकिङ क्षेत्रमा अहिले निजी क्षेत्रको ठूलो उपस्थिति छ। यसबाहेक विभिन्न वित्तीय संस्थाहरु आएका छन्। विमा क्षेत्रमा पनि धेरै निजी कम्पनीहरु आएका छन्। विमा कम्पनी धेरै भएकाले अहिले मर्जरको कुरा आइरहेको छ। वित्तीय क्षेत्रको वृद्धि अन्य क्षेत्रको तुलनामा व्यापक रुपमा भएको छ। प्रविधिमा आएको परिवर्तन आएकाले पारदर्शिता पनि धेरै विकसित भएको छ। यो सबैका लागि खुशीको कुरा हो।’

‘बैंक र वित्तीय संस्थाहरुले कार्यपद्धति अन्तर्राष्ट्रियस्तर अपनाउने छन्। उपभोक्ताको अधिकार र सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने छन् भन्ने मलाई विश्वास छ’ मन्त्री डा. महतले थपे, ‘बैंकिङ क्षेत्रको यति धेरै वृद्धि हुँदाहुँदै पनि अप्ठ्यारामा परेका बैंकलाई राष्ट्र बैंकको सहयोगमा सुधार भएको पाइन्छ। कृषि विकास बैंकमा पनि सुधारको आवश्यकता छ।’ निजी क्षेत्रको बैंकहरु पनि निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनर्स्थापना गर्न आत्मविश्वास भएको अवस्था भएकाले नेपालको वित्तीय क्षेत्रलाई नमूनाको रुपमा अगाडि बढाउन जरुरी रहेको मन्त्री डा. महतको भनाइ थियो।

उनले अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको बताए। अहिले प्रस्तावित बजेटमा सहकारीलाई नियमन घेराभित्र ल्याउने निकायको स्थापना गर्ने प्रस्ताव गरिएको छ। यसलाई हामी छिट्टै कार्यान्वयनमा ल्याउने उनले बताए। ‘वित्तीय संस्था धेरै छन्, साना वित्तीय संस्थाले पनि ठूलो स्वरुप ग्रहण गरेका छन्। कतिपय वित्तीय संस्था निक्षेपकर्ताको काबु बाहिर गएको अवस्था पनि छ। यसबारेमा राष्ट्र बैंकले उचित निर्णय लिनेछ,’ उनले भने, ‘तत्कालको परिवेश हामी केही समस्यामा छौं, यो समस्याबाट बाहिर निस्कने क्रममा हामी छौं। पछिल्लो तथ्यांकअनुसार मूल्यवृद्धि घटिरहेको छ। ७ प्रतिशतभन्दा तल आउनु सुखद् हो, आउँदो वर्ष ६ दशमलब ५ प्रतिशतमा ल्याउने हाम्रो लक्ष्य हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2023
Website | + posts