नेपालले आज मलेसियासँग खेल्दै

नेपालले आज मलेसियासँग खेल्दै : Icon Khabar

काठमाडौं, जेठ १५ । नेपालले पहिलो महिला टि२० आई खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८ः ४५ मा मलेसियाको बांगीमा सुरु हुनेछ । पाँच महिला टि२० आई खेलको सिरिजमा नेपाल घरेलु टोली मलेसियाविरुद्ध सानदार प्रदर्शनका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ ।

नेपालको कप्तानी रुविना क्षेत्री बेलबासेले गर्नेछिन् । रुविना र सीता नेपालका प्रमुख हतियार हुन् । यी दुई अलराउन्डरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । अघिल्लो महिना फेयर ब्रेक क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरेकी रुविनाबाट नेपाल नेपाली टोलीमा पनि त्यस्तै प्रदर्शन चाहन्छ ।

सीताले घरेलु क्रिकेट र सिनियर टोली दुबैबाट उच्च प्रदर्शन गर्दै आएकी छिन् । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य र कविता कुँवर नेपालका प्रमुख बलिङ हतियार हुन् । यी दुई युवा खेलाडीको गति खेल्न मलेसिया ब्याटरलाई सहज हुनेछैन ।

नेपालको टोलीमा तीन युवा खेलाडी सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी विष्ट पहिलो पटक परेका छन् । युवा ब्याटर सम्झना खड्का र स्पिनर कृतिकाले नेपाली टोलीमा डेब्यू गर्ने सम्भावना छ । सम्झनाले मध्यक्रममा ब्याटिङ गर्न सक्छिन् । घरेलु क्रिकेटमा पछिल्लो समय लगातार राम्रो प्रदर्शन गर्दै आएकी छिन् । कृतिका स्पिनर हुन् । इन्दु बर्माबाट नेपाल उत्कृष्ट ब्याटिङ चाहन्छ ।

मलेसियाले पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको छ । नेपाल भने एक वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । मलेसिया कप्तान विनीफ्रेन्डले राम्रो प्रदर्शन गर्दै आएकी छिन् । मध्यक्रममा मास एलियास, एलिसा हन्टर र वान जुलिया हुनेछन् । तीव्र गतिकी बलर अनिना हामिजा हासिम मलेसिया प्रमुख बलर हुन् ।

दुई साताअघि म्यानमारलाई २४ रनमा अल आउट गर्न उनले पाँच विकेट लिएकी थिइन् । नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेट २०२२ जुनमा मलेसियामा नै एसिसी वुमन्स टि२० च्याम्पियनसिप खेलेको थियो । त्यसपछि नेपालले कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यसैले नेपाललाई पहिलो खेलमा टिम मिलाउननै कठिन पर्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 May 2023
Website | + posts