जापानको सेयर बजार सूचक सन् १९९० अगस्टयताकै उच्च विन्दुमा

जापानको सेयर बजार सूचक सन् १९९० अगस्टयताकै उच्च विन्दुमा : Icon Khabar

काठमाडौं, जेठ ४ । जापानको सेयर बजार सूचक ३३ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बुधबार जापानको ‘टोकियो प्राइस इन्डेक्स (टपिक्स)’ सन् १९९० अगस्टयताकै उच्च विन्दुमा पुगेको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको छ ।

टपिक्सले सन् २०२३ को हालसम्म १५% भन्दा बढी वृद्धि हासिल गरिसकेको छ । विदेशी लगानीकर्ताहरु पुनः जापानमा लगानीका लागि आकर्षित हुन थालेपछि सेयर बजारमा पनि रौनकता आएको हो ।करिब २ हजार सूचीकृत कम्पनीहरु सम्मिलित यस सूचकले एसिया–प्रशान्त क्षेत्रका अन्य सेयर बजारहरुको तुलनामा राम्रो प्रदर्शन गरिरहेको छ ।

यता, जापानको अर्को सेयर बजार सूचक ‘निक्के २२५’ ले पनि ३० हजार विन्दुको मनोवैज्ञानिक रेखा पार गरेको छ । निक्के पनि सन् २०२१ को नोभेम्बर महिनायताकै उच्च विन्दुमा पुगेको हो । जापानको सेयर बजारले सन् १९८९ मा क्र्यास भएयता पुनः अल टाइम हाई विन्दु छुन सकेको छैन ।यद्दपि, पछिल्लो समय विदेशी लगानीकर्ताहरुले जापानलाई लगानी गन्तव्य बनाउन थालेका छन् ।

यस वर्षको सुरुमा बर्कसायर ह्याथवेका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत वारेन बफेटले जापानका शीर्ष ५ ट्रेडिङ फर्महरुमा आफ्नो हिस्सेदारी बढाएपछि ति फर्महरुको सेयर भाउमा उछाल आएको थियो । बफेटले आफ्नो होल्डिङ अझै बढाउने संकेत पनि गरिरहेका छन् ।

यता, गोल्डम्यान स्याक्सले मे १२ मा एक रिपोर्ट सार्वजनिक गर्दै जापानी कम्पनीहरुको आधारभूत पक्षहरु पनि बलियो भएका कारण लगानीका लागि उचित रहेको बताएको थियो । यस्तै, कतिपय लगानीकर्ताहरुले जापानको कर्पोरेट सुशासनमा सुधारको तीव्र लहर चलिरहेको र उच्च प्रतिफल दिने स्टकहरु अन्डरभ्याल्यूड रहेको धारण विकास गरेका छन् । जसका कारण जापानमा लगानीकर्ताको आकर्षण बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2023
Website | + posts