यौनजन्य हिंसामा संलग्नलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने

यौनजन्य हिंसामा संलग्नलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने : Icon Khabar

काठमाडौं, वैशाख २४ । गृहमन्त्रालयको आयोजनामा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो कार्ययोजनाको राष्ट्रिय कार्यशाला आइतबार सम्पन्न भयो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सरकारका गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले द्वन्द्वको क्रममा महिला तथा बालबालिकामाथि भएको यौनजन्य हिंसाको अन्त्य, पीडितलाई न्याय दिन र पीडकलाई हदैसम्मको सजाय गर्नुपर्नेमा जोड दिए ।

उनले द्वन्द्वको समयमा हिंसामा संलग्नलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै कार्ययोजनाबारे संघ, प्रदेश, जिल्ला र स्थानीय तहबीच कार्यनीति बनाई कार्यान्वयन पक्षलाई बलियो बनाउने धारणा ब्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले द्वन्द्व पीडित महिला तथा बालबालिकाहरूलाई आर्थिक सहयोगभन्दा सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउनुपर्नेतर्फ जोड दिए ।

सशस्त्र द्वन्द्व र शान्तिपूर्ण आन्दोलनबाट देशमा गणतन्त्रको स्थापना भएको बताउँदै उनले दोस्रो राष्ट्रिय कार्ययोजना निर्माण गर्दा देशको आर्थिक अवस्थालाई पनि ध्यान दिनुपर्ने बताए ।

सरकारले योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको व्यवस्था गर्नु आवश्यक भएको बताउँदै द्वन्द्व पीडितलाई मात्र नभई सबै समुदायलाई योग्य बनाउनेतर्फ ध्यान दिनु आवश्यक भएको उनले बताए ।

जनतालाई केन्द्रमा राखेर काम गर्न सके देशमा गरिबी निवारण सम्भव भएको कुरा छिमेकी देश चीनबाट सिक्न सकिने बताउँदै उनले गैरसरकारी तथा सरकारी संघसंस्थाले निर्देश गरेबमोजिम काम गर्न थाले सरकार बुँख्याचाको रुपमा परिणत हुने पनि सो अवसरमा बताए ।

कार्यक्रममा द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालका संयोजक देवी खड्काले द्वन्द्व पीडित महिला तथा बालबालिकाहरूको समस्या समाधानको लागि विशेष संयन्त्रको व्यवस्था गरिनु आवश्यक भएको बताउँदै सरकारले सम्भावित द्वन्द्वको अन्त्य कसरी गर्ने भन्ने विषयमा पनि छलफल गरिनु आवश्यक भएको बताए ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी अधिकारीले महिला हक अधिकारको लागि आयोगले सँधै अग्रपंक्तिमा रही काम गर्दै आएको बताउँदै हिंसाबाट पीडितहरूलाई आर्थिक सहयोगभन्दा पनि भावनात्मक सहयोग महत्वपूर्ण हुने बताए ।

गृहसचिव विनोदप्रकाश सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेशसभा सदस्य मा. मैना कार्की, महिला तथा सामाजिक सञ्जालका अध्यक्ष मा. रोशनी कार्की, काभ्रे जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, संयुक्त राष्ट्र संघका प्रतिनिधि, विपद् तथा द्वन्द्व महाशाखाका प्रदीपकुमार निरौला, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालका महासचिव सुशिला चौधरी र गृह मन्त्रालय शान्ति प्रवद्र्धन शाखाका फणिन्द्र दाहालले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रष्ट पार्दै आ–आफ्नो धारणा राखेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2023
Website | + posts