काठमाडौँ, वैशाख २० । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरजसो नै आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बुधवार बदली बढ्ने र वर्षा हुने देखिएको छ। बिहीवारदेखि केही घट्ने र पानी पनि कम हुने सम्भावना छ।
बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा र बाँकी एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान छ। राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।
पहाडी भू-भागका थोरै स्थानहरूमा मात्र मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।
नेपालमा अहिले परिरहेको पानी मनसुन पूर्व हुने वर्षा हो। काठमाडौँमा मे महिनामा मात्र औसत १२३.६ मिलिमिटर वर्षा हुने गरेको मौसम विभागको तथ्याङ्क छ। यो साताको सुरुवातदेखि मङ्गलवारसम्ममा उपत्यकामा जम्मा ३ मिलिमिटर वर्षा भएको छ।
बिहीवार दिउँसो र राति भने देशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
Published Date: 03 May 2023