विभिन्न देशबाट आएका स्काउट प्रतिनिधिहरूको टोलीलाई सोमबार भक्तपुर नगरमा भव्य स्वागत

विभिन्न देशबाट आएका स्काउट प्रतिनिधिहरूको टोलीलाई सोमबार भक्तपुर नगरमा भव्य स्वागत : Icon Khabar

भक्तपुर, चैत १३ । नेपाल स्काउटको आयोजनामा भएको छैटौं एसिया प्रशान्त क्षेत्रीय मेसेन्जर अफ पिस राष्ट्रिय संयोजकहरूको सम्मेलनमा भाग लिन विभिन्न देशबाट आएका स्काउट प्रतिनिधिहरूको टोलीले सोमबार भक्तपुरमा भेट गरेका छन्।

सो स्वागत समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘देशको भविष्यको लागि योग्य, अनुशासित, असल र इमानदार नेतृत्व तयार गर्न स्काउट तालिमको महत्वपूर्ण भूमिका रहने बताउँदै संकटमा विचलित नभई संयमतापूर्वक काम गर्ने, सँधै अरुको भलाइको निम्ति चिन्तन गर्ने र स्वयम्सेवी भावनाले काम गर्ने नै स्काउटको महत्वपूर्ण पक्ष हो’ भने।

भक्तपुर नगर स्काउटको संरक्षकमा नगर प्रमुख र अध्यक्षमा उपप्रमुख रहने व्यवस्था रहेको उल्लेख गर्दै उनले भक्तपुर नपाले स्काउट प्रशिक्षकहरूलाई तालिम दिइसकेको र नगर स्काउटको गठनपछि भक्तपुर नगरपालिका भित्रका सबै विद्यालयहरूमा स्काउट गठन गर्ने तयारीमा रहेको बताए।

प्राचीन नगरको स्वरुपलाई बचाइ राख्ने कोसिस भक्तपुर नपाले गर्दै आएको बताउँदै उहाँले भक्तपुरको मौलिक सीप र प्रविधिलाई जोगाउँदै पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्वका क्षेत्रहरूको अध्ययन, अनुसन्धान र उत्खनन् गर्दै प्राचीन भक्तपुर नगरको सम्पदाहरूलाई जीवन्त राख्न नगरपालिका प्रयासरत रहेको बताए।

कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुरको इतिहास र नगरपालिकाको विशेषताबारे संक्षेपमा प्रस्तुतीकरण दिँदै यहाँका मूर्त र अमूर्त कला–संस्कृतिको संरक्षण हाम्रो प्राथमिकताको विषय हो भनेकी थिईन्।

प्रतिनिधिमण्डल टोलीको तर्फबाट पिटर जे. ब्लाट्च ओएमले नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई तिनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गरी देश विकास कार्यमा सहभागी गराउन स्काउट क्रियाशील रहेको बताउँदै विद्यालयहरुमा पनि अनिवार्य स्काउटको कक्षा सञ्चालन गर्न सके अनुशासित विद्यार्थीहरु उत्पादन हुने बताए।

भक्तपुर नपाले गरेको न्यानो स्वागतप्रति आभार प्रकट गर्दै उहाँले स्काउटले एकआपसमा भाइचारा सम्बन्ध विकास गरी बलियो समाज निर्माणमा टेवा पुर्याउने बताए।

स्काउट प्रतिनिधिहरूको टोलीमा नेपाल, बंगलादेश, कम्बोडिया, चीन, फिजी, भारत, जापान, मलेसिया, माल्दिभ्स, श्रीलंका, थाइल्याण्ड, भियतनामलगायतका देशबाट स्काउट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts