भक्तपुर, असोज २४ । विजयादशमी २०८३ को पावन अवसरमा मोडर्न स्कूल अनि कलेज सिर्जनानगर भक्तपुर-१ का ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूले भक्तपुर नगरपालिका–९ स्थित ऐतिहासिक ब्रह्मायणी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेका छन्।
चाडपर्वलाई सामाजिक उत्तरदायित्व र सांस्कृतिक सम्पदा संरक्षणसँग जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रतियोगीहरूले मन्दिर परिसरको सरसफाइ गर्दै स्वच्छता र सामाजिक सेवाको महत्त्वबारे सकारात्मक सन्देश दिएका छन्।
कार्यक्रममार्फत प्रतियोगीहरूले सुन्दरता बाहिरी रूप र व्यक्तित्वमा मात्र सीमित नहुने, बरु सामाजिक जिम्मेवारी वहन गर्ने, समुदायको सेवामा योगदान पुर्याउने र ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा सक्रिय हुने कार्यमा पनि प्रतिबिम्बित हुने सन्देश दिएका छन्।
विशेषगरी दशैंको समयमा धार्मिक स्थलहरूमा भक्तजनको चहलपहल बढ्ने, मेला लाग्ने भएकाले यस्ता स्थानको सरसफाइ र संरक्षणमा सबैले ध्यान दिनुपर्ने आवश्यकतालाई कार्यक्रमले उजागर गरेको छ।
‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको यस पहलले युवापुस्तालाई सामाजिक सेवामा सक्रिय हुन, आफ्नो सांस्कृतिक पहिचानको संरक्षण गर्न र सार्वजनिक स्थललाई स्वच्छ राख्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
चाडपर्वको वास्तविक खुसी आपसी सद्भाव, सामाजिक उत्तरदायित्व र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि निहित हुने सन्देश दिँदै प्रतियोगीहरूले धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई स्वच्छ राखेर आफ्नो परम्परा र सम्पदालाई जीवन्त राख्न सबैमा आग्रह गरेका छन्।
Published Date: 10 October 2026